अन्धकारमुक्ति सहकारीद्वारा सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज २३ गते १०:१०

 

असोज २२, रामपुर (रमा भण्डारी) –
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते (बुधबार) एकैदिन चारवटा सेवा केन्द्रहरूमा साधारणसभाका लागि प्रतिनिधिहरूको चयन सम्पन्न गरेको छ।
रामपुर नगरपालिका–९ अर्भसिं, रामपुर नगरपालिका–१० रामटार, रम्भा गाउँपालिका–५ ताँहु र निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीमा सेवा केन्द्र स्तरीय रूपमा सभा सम्पन्न भएको हो। संस्थाले असोज २४ गते निर्णय प्रमाणितसहित सभा सम्पन्न हुने जनाएको छ।

सहकारीले असोज २४ गते (शुक्रबार) केन्द्रीय कार्यालय तथा सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरूका लागि शहीद बहुमुखी क्याम्पस, रामपुरमा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। त्यसपछि कात्तिक १ गते एकाइगत साधारणसभाबाट चयन भएका प्रतिनिधि सदस्यहरूको निर्णय प्रमाणितसहितको साधारणसभा संस्थाको आफ्नै सभाहलमा हुने जनाएको छ।

कार्यक्रमका अवसरमा सहकारीले प्रत्येक सेवा केन्द्रमा नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोवारी सदस्य, उत्कृष्ट वाल बचतकर्ता, सफल व्यवसायी, उत्कृष्ट केन्द्र र केन्द्र प्रमुखहरूलाई पुरस्कार प्रदान गरेको थियो। साथै, गत आर्थिक वर्षमा ७० वर्ष पूरा गरेका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान र पेन्सन भत्ता वितरण गरिएको थियो। हालसम्म सहकारीका १४२ जना ज्येष्ठ सदस्यहरूले मासिक भत्ता प्राप्त गर्दै आएका छन्।

सहकारीका अनुसार, २०८२ असार मसान्तसम्म आइपुग्दा संस्थाले
👉 ११,४४० जना शेयर सदस्य,
👉 १ अर्ब २६ करोड रुपैयाँ बचत,
👉 १ अर्ब ५ करोड ऋण लगानी,
👉 १५ करोड ८३ लाख रुपैयाँ शेयर पुँजीसहित
कुल १ अर्ब ६४ करोड बराबरको पुँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको जनाएको छ।

यस वर्ष सहकारीको विधान अनुसार सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन तथा निर्वाचन हुने भएकाले सहकारीले सोहीअनुसार आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको छ।

रामटार सेवा केन्द्रमा आयोजित कार्यक्रममा रामपुर नगरपालिका–१० का वडा अध्यक्ष तोयानाथ सारूले बोल्दै, बचतसँगै उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले सहकारीमार्फत लगानी गर्दा कृषि उत्पादनबाट किस्ता तिर्न सक्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिनुभयो।
“कुखुरापालनमा ४५ दिनमै आम्दानी आउँछ, तर किस्ता त महिनामै तिर्नुपर्ने बाध्यता छ, त्यसलाई सहकारीले बुझ्नुपर्छ,” उहाँको भनाइ थियो।

वडा अध्यक्ष सारूले वित्तीय साक्षरतामा वडा कार्यालय पनि ध्यान दिइरहेको र “राजनीति सेवा हो, पेशा होइन” भन्दै काम, उत्पादन र बचतसँग जोडिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम सहकारीका सचिव ओम प्रकाश बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लेखा समिति सदस्य विष्णु प्रसाद लम्साल, शेयर सदस्यहरू ज्ञान प्रसाद भण्डारी, जानुका भण्डारी र तेजकुमारी बस्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो भने सदस्यहरूले सहकारीसम्बन्धी गीत गाएर रमाइलो माहोल सृजना गरेका थिए।

फिचर पोस्ट


प्रकाशित : २०८२ असोज २३ गते १०:१०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology