📍 रामपुर, पाल्पा — असोज २४
✍️ रमा भण्डारी
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि।ले शुक्रबार केन्द्रीय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरूको प्रतिनिधि छनोट सम्पन्न गरेको छ। सहिद बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा निणर्य प्रमाणितसहित साधारण सभाका प्रतिनिधिहरू चयन गरिएका हुन्।
संस्थाले कात्तिक १ गते हुने सेवाकेन्द्र स्तरीय तथा एकाइगत साधारणसभाबाट छनोट भएका प्रतिनिधिहरूसहित निणर्य प्रमाणित साधारणसभा आफ्नै सभाहलमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
कार्यक्रममा प्रत्येक सेवाकेन्द्रबाट नियमित बचतकर्ता, असल ऋणी, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट कारोबारी सदस्य, उत्कृष्ट वाल बचत, सफल व्यवसायी, उत्कृष्ट केन्द्र र केन्द्र प्रमुखहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, गत आर्थिक वर्षमा ७० वर्ष पुगेका २५ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मानसहित पेन्सन भत्ता वितरण गरिएको थियो। हालसम्म १६७ जना ज्येष्ठ सदस्यहरूले मासिक भत्ता पाउँदै आएका छन्।
साथै, यस वर्षको एसईई परीक्षामा ४ GPA ल्याउने विद्यार्थी अनुजा श्रेष्ठ र विविशा घिमिरेलाई पुरस्कार प्रदान गरिएको छ। पाल्पा क्षेत्रमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई पनि संस्थाले सम्मान गरेको छ।
संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलका अनुसार हालसम्म संस्थाको शेयर सदस्य संख्या ११,४४० पुगेको छ। २०८२ असार मसान्तसम्म संस्थाले १ अर्ब २६ करोड वचत संकलन, १ अर्ब ५ करोड ऋण लगानी, १५ करोड ८३ लाख शेयर पूँजीसहित १ अर्ब ६४ करोड बराबरको पूँजी परिचालन गरी ३ करोड ४६ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
पौडेलका अनुसार संस्थाको विधान अनुसार यस वर्ष सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गठन तथा निर्वाचन हुने भएकाले सर्वसहमतिको आधारमा अन्तिम नामावली प्रकाशन भइसकेको छ। उक्त प्रतिनिधिहरूको पदभार हस्तान्तरण तथा ग्रहण समारोह कात्तिक १ गते साधारणसभामा हुनेछ।
कार्यक्रममा अध्यक्ष सागर प्रसाद देवकोटाले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्था र आगामी योजना सार्वजनिक गर्नुभयो।
लेखा सुपरिवेक्षण समिति संयोजक विष्णु प्रसाद लम्सालले संस्थाको सबै कारोबार नीति, नियम र विधिसँग सुसंगत रहेको बताउनुभयो।
वडा नं १ का अध्यक्ष एवम् नगर प्रवक्ता कपिलबहादुर खाँडले सहकारीप्रति नकारात्मक दृष्टिकोण बढ्दै गएको अवस्थामा अन्धकारमुक्तिले सुशासन र पारदर्शीता कायम राख्दै लगानीमैत्री वातावरण निर्माण गरिरहेको प्रशंसा गर्नुभयो।
कार्यक्रममा शेयर सदस्यहरू राजेन्द्र लम्साल, निलकण्ठ पोखरेल, कृष्ण प्रसाद पौडेल, नारायण भट्टराई, सुनीता राना, देविलाल अधिकारी, एकराज गौतमलगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सदस्यका सुझावलाई संस्थाको मार्गदर्शनका रूपमा लिई आगामी दिनमा नीति, विधि र प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम उपाध्यक्ष न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भई सचिव ओम प्रकाश वस्यालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा सहकारी गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो।
फिचर पोस्ट

प्रकाशित : २०८२ असोज २५ गते ८:५०
Facebook Comment