असोज ३०, पूर्वखोला (पाल्पा)
भौगोलिक रूपमा बिकट मानिने पूर्वखोला गाउँपालिका–२, जल्पा साठिकोलमा पहिलो पटक नियमित सार्वजनिक यातायात सेवा सञ्चालनमा आएको छ।
श्रीनगर यातायात प्रा.लि. ले साठिकोलसम्म जीप सेवा सञ्चालन गर्न थालेसँगै अब स्थानीयबासीलाई सदरमुकाम तानसेन आउन–जान सहज भएको छ। यसअघि साठिकोलका बासिन्दालाई करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो।
पहिलोपटक जीप गाउँमा पुगेपछि स्थानीयबासीहरूले फुलमाला र अबिर लगाएर स्वागत गरेका छन्। स्थानीय झनक सि ठाडाका अनुसार अब गाउँदेखि सदरमुकामसम्मको यात्रा सहज, सुरक्षित र छिटो भएको छ।
सवारी चालक माधब पाण्डे, जो श्रीनगर यातायात प्रालिका मनोनीत सदस्य, सोही जीपका गाडी मालिक तथा कन्दरा न्यूजका संवाददाता समेत हुन्, उहाँले भने—
“गाउँ र शहर जोड्ने हाम्रो यात्रा निरन्तर रहनेछ। यस यात्रामा साथ र सहयोग गर्ने सम्पूर्ण स्थानीयजनप्रति हार्दिक धन्यवाद।”
श्रीनगर यातायात प्रालिका अनुसार अब जीप तानसेनबाट बिहान १०:३० बजे र साठिकोलबाट बिहान ६:०० बजे नियमित रूपमा छुट्नेछ।
सार्वजनिक यातायात सेवा सुरु भएपछि साठिकोलवासीले सहज आवागमनसँगै आर्थिक, सामाजिक र व्यापारिक गतिविधिमा नयाँ गतिशीलता आउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित : २०८२ असोज ३० गते २०:१६
Facebook Comment