
पाल्पा, पूर्वखोला — पूर्वखोला गाउँपालिका–४ देविनगरमा उपभोक्ता समितिका पदाधिकारीहरूका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।
उपभोक्ता समितिलाई आयोजनाको सञ्चालन, गुणस्तरीय काम, आर्थिक पारदर्शिता र फरफारक प्रक्रियामा सहजता प्रदान गर्ने उद्देश्यले वडा कार्यालयको सभाहलमा तालिम आयोजना गरिएको थियो।
तालिममा गाउँपालिकाका योजना शाखा प्रमुख विनोद नेपालले उपभोक्ता समिति गठन प्रक्रिया, आयोजना सम्झौता गर्दा आवश्यक कागजातहरू, पेस्की रकम माग्ने तरिका लगायत विषयमा सहजीकरण गर्नुभयो।
त्यसैगरी गाउँपालिकाका इन्जिनियर लक्ष्मण न्यौपाने र सब–इन्जिनियर देवेन्द्र थापाले आयोजनाको स्थलगत अध्ययन, स्टेटमेन्ट तयार गर्ने तरिका, निर्माण सामग्रीको छनोट र गुणस्तर सुनिश्चित गर्ने उपाय, तथा निर्माण संरचनाको मूल्यांकन सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो।
लेखाशाखाका लेखापाल दिपक कँवरले आयोजना भुक्तानीका लागि आवश्यक कागजातहरू, भ्याट तथा राजस्व कटौतीका प्रतिशतहरू, भ्याट बिल र भ्यान बिल छुट्याउने विधि, र खर्च सार्वजनिक गर्ने प्रक्रिया बारेमा जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले क्षमता विकास तालिमले उपभोक्ता समितिलाई योजना सञ्चालन र प्रशासनिक कार्यमा सहज बनाउने बताउँदै भनिन्,
“विकास निर्माणका गतिविधिले स्थानीय बासिन्दालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सुविधामा पहुँच बढाएको छ। यस वर्षका योजना समयमै सम्पन्न गर्नुपर्छ, आवश्यक सहयोगका लागि गाउँपालिका सधैं साथमा रहनेछ।”
त्यस्तै गाउँपालिकाका प्रशासनिक अधिकृत राजु नेपालले उपभोक्ता समितिलाई सहभागी र पारदर्शी ढंगले काम गर्न आग्रह गर्दै भने,
“गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्छ, विल भरपाई स्पष्ट हुनुपर्छ। कुनै गल्ती भए कानुनी कारबाही हुनेछ, त्यसैले हरेक काम जिम्मेवारीपूर्वक गर्नुपर्छ।”
देविनगर वडामा चालु आर्थिक वर्षमा वडा कार्यालय, गाउँपालिका, प्रदेश र संघ सरकारका गरी ४७ वटा आयोजना कार्यक्रमहरू सञ्चालनमा रहेको जनाइएको छ।
तालिममा ५८ जना उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रम वडा सचिव तेजी सरा थापाको सञ्चालनमा र वडा अध्यक्ष मेहरसिं थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।



प्रकाशित : २०८२ कार्तिक २८ गते २१:५४
Facebook Comment