पूर्वखोला गाउँपालिकाको १८औँ विशेष गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा सभाध्यक्ष नुन बहादुर थापाले गर्नुभएको थियो। गाउँसभा सदस्यहरुको एक–तिहाइको माग तथा केही महत्वपूर्ण विषय तत्काल निर्णय गर्नुपर्ने आवश्यकता भएकाले विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिनुहुँदै उहाँले बैठकको कार्यसूची प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम देविनगरका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मेहर सिंह थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको थियो। त्यसपछि गाउँपालिकाकी उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले ११ वटा प्रस्ताव गाउँसभामा पेश गर्नुभएको थियो।
उपाध्यक्षले पेश गरेका प्रस्तावमध्ये—
- खल्लुक भञ्ज्याङ–बिर्ता बजार मोटरबाटो योजनाका लागि रु. १२,३४,४७३
- गत वर्षको बक्यौता रु. ८,०३,३४९
- नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कोष रु. ६,००,०००
- डोजर सञ्चालन तथा व्यवस्थापन कोष रु. ७,००,०००
- प्रशासकीय भवन जाने बाटो रु. ६,००,०००
- सवारी साधन खरिद रु. ७,००,०००
- जल्पा वडा भवन रु. २,००,०००
- प्रशासकीय भवन व्यवस्थापन रु. ५,००,०००
गरी जम्मा ५३,३७,८२२ रुपैयाँ विनियोजन गरिएको छ।
निर्माण कार्य सम्पन्न भइसकेका दुई योजनाको भुक्तानी उपलब्ध गराएर बाँकी योजनामा आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी सभा मार्फत निम्न कार्यविधि तथा नीतिहरू सर्वसम्मत पारित भएका छन्—
- नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०८२
- बाल संरक्षण नीति, २०८२
- कृषि तथा पशुपंक्षी फर्म दर्ता कार्यविधि, २०८२
- बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०८२
- हेभि मेसिनरी तथा औजार सञ्चालन–व्यवस्थापन कार्यविधि, २०८२
- भदौ २३ र २४ गते जेनजिकाे प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरुप्रति शोक प्रस्ताव
सभाका सदस्यहरू—बासुदेव न्यौपाने, भुवन सिंजाली, सावित्रा थापा, समुद्रा भारती, र रविन कुमार श्रेष्ठ—ले आफ्ना जिज्ञासा तथा सुझावहरू राखेका थिए। उठेका प्रश्न तथा गुनासा सभाध्यक्ष नुन बहादुर थापा र सचिव राजु नेपालले सम्बोधन गर्नुभएको थियो।
दिउँसो १२ बजे सुरु भएको विशेष अधिवेशन करिब २ घण्टा संचालन भएर सम्पन्न भयो। अन्त्यमा सभाध्यक्ष थापाले १७औँ गाउँसभाले पारित गरेका नीति तथा कार्यक्रमहरूलाई जनप्रतिनिधि तथा कर्मचारीहरूले छिटो, छरितो, पारदर्शी तथा दीगो ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै १८औँ विशेष अधिवेशन समापन गर्नुभएको थियो।

प्रकाशित : २०८२ मंसिर ५ गते २०:२१
Facebook Comment