मंसिर ५, रमा भण्डारी, रामपुर पाल्पा
लायन्स क्लब अफ रामपुर पाल्पाको आयोजना तथा लायन्स क्लब अफ बुटवल स्टारको आर्थिक सहयोगमा रामपुर अस्पताललाई ७० लाख रुपैयाँ बराबरका अत्यावश्यक मेडिकल उपकरणहरू हस्तान्तरण गरिएको छ।
रामपुर अस्पतालको सभाहलमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ रामपुरका अध्यक्ष लायन प्रेम प्रकाश ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले लायन्स क्लबले प्रदान गरेको ७० लाख बराबरको उपकरण अस्पताल विकास समिति अध्यक्ष युवराज खनाल र मेडिकल सुपरिटेन्डेन्ट शान्त बहादुर रोका मगरलाई हस्तान्तरण गर्नुभयो।
उहाँले पूर्वी पाल्पामै सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै लायन्स क्लबप्रति प्रशंसा गर्नुभयो। साथै नगर विकासमा सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउँदै, सेवामूलक संस्थाहरु नगरपालिकाका अभिन्न सहकार्यकर्ता हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा लायन्स क्लब अफ रामपुरका संस्थापक अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिस्टिक ३२५ पि का डिस्टिक चिफ भोजेन्द्र प्रकाश ढकालले सहभागीहरूलाई स्वागत गर्दै क्लबको उद्देश्य र सामाजिक सेवामा यसको निरन्तर भूमिकाबारे जानकारी दिनुभयो।
त्यसैगरी अस्पताल विकास समिति अध्यक्ष युवराज खनालले निस्वार्थ भावनाले गरिएको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउँदै लायन्स क्लबप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ रामपुरका पूर्व अध्यक्ष लायन खिम बहादुर क्षेत्रीले गर्नुभएको थियो।

प्रकाशित : २०८२ मंसिर ७ गते ०:२५
Facebook Comment