तिहारमा देउसी–भैलो संकलनबाट न्यु जल्पाली लोक पञ्चेबाजाद्वारा सामाजिक सहयोग
माधब पाण्डे , जल्पा प्रकाशित : २०८२ मंसिर २८ गते ८:२१
पाल्पा, पूर्वखोला गाउँपालिका–२, जल्पा मैदानस्थित न्यु जल्पाली लोक पञ्चेबाजा समूहले दशैं–तिहारको अवसरमा देउसी–भैलो खेलेर संकलन गरेको रकम सामाजिक सेवामा खर्च गरेको छ।
समूहले पाल्पाको तानसेन, आर्यभञ्ज्याङ, हुमिन तथा जल्पा गाउँ क्षेत्रमा देउसी–भैलो खेलेर उठाएको दानबाट पूर्वखोला गाउँपालिका–२ भित्र रहेका क्यान्सर पीडित, जेष्ठ नागरिक, अपाङ्ग तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गरेको हो।
सहयोग अन्तर्गत शम्भु माध्यमिक विद्यालयमा अध्ययनरत प्रमिला बराल, तुल्सा विक, ग्यालेक्सी बरघरे र आयुषा सारुलाई फाइबर सिरक वितरण गरिएको छ। त्यसैगरी, जल्पा–ढोलिमारा निवासी ८१ वर्षीय जेष्ठ नागरिक लिम बहादुर बरघरेलाई फाइबर सिरक तथा साकिने निवासी स्तन क्यान्सर पीडित टिकी माया दर्लामीलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
न्यु जल्पाली लोक पञ्चेबाजा समूहले यस क्रममा २५ थान फाइबर कम्बल तथा नगद सहयोग वितरण गरेको समूहका अध्यक्ष तिलसिंह बरघरेले जानकारी दिनुभयो।
उहाँका अनुसार देउसी–भैलोबाट संकलित रकम मनोरञ्जन वा भ्रमणमा खर्च नगरी सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पीडित तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गरिएको हो।
Facebook Comment