कतारमा कार्यरत ५५ भन्दा बढी नेपाली श्रमिक सुनका गहना बनाइदिने भन्दै रकम उठाएर फरार भएका दुई नेपाली व्यवसायीबाट ठगीमा परेका छन्। घटनामा पीडितको संख्या र ठगी रकम दुवै बढ्दो क्रममा रहेको छ।
कतारको राजधानी दोहाको गोल्ड सुक क्षेत्रमा सञ्चालनमा रहेको ‘गोल्डेन स्टोन ज्वैलरी’ नामक सुनचाँदी पसलका सञ्चालक रौतहट परोहा नगरपालिका–२ का मोहम्मद मोआज आलम र मोहम्मद नसिरुल राइनले नेपाली श्रमिकसँग सम्बन्ध र विश्वासको आधारमा गहना बनाइदिने नाममा रकम असुली गरी पसल नै बन्द गरेर फरार भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले जनाएको छ।
एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार हालसम्म ५५ जनाभन्दा बढी नेपाली श्रमिक ठगीमा परेको विवरण आएको छ। प्रारम्भिक तथ्यांकअनुसार करिब ५ लाख ४७ हजार कतारी रियाल बराबरको रकम ठगी भएको छ भने पीडितको संख्या थपिँदै गएकाले यही अवस्था रहेमा कुल ठगी रकम करिब १० लाख कतारी रियालसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
घटनापछि पीडितहरूबीच समन्वय गर्न वाट्सएप समूहसमेत बनाइएको छ। आफूहरू ठगिएको थाहा पाएलगत्तै पीडितले कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराएका छन्। फरार रहेका दुवै व्यवसायीको खोजी कतार प्रहरीले गरिरहेको छ।
एनआरएनए कतारले नेपाली दूतावास कतार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै पीडितलाई न्याय दिलाउन पहल गरिरहेको जनाएको छ।
प्रकाशित : २०८२ पुष ८ गते २२:३८
Facebook Comment