पूर्वखोला गाउँपालिकाको घुम्ती सेवा मध्यरातसम्म, देविनगरमा साँझ ७ बजेसम्म सेवा प्रवाह

भुवन सिंजाली
प्रकाशित : २०८२ पुष ८ गते २३:२६

भुवन सिंजाली पूर्वखोला, पाल्पा।

पूर्वखोला गाउँपालिकाले सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको घुम्ती सेवा शिविर अन्तर्गत वडा नं. ४ देविनगरमा साँझ ७ बजेसम्म सेवा प्रदान गरेको छ।

नेपाल सरकारको प्रशासन सञ्चालन ऐन अनुसार मंसिर १५ देखि माघ १५ गतेसम्म जाडो याममा कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको भए पनि, गाउँपालिकाले घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यसहित तोकिएको समयभन्दा बाहिरसम्म सेवा दिएको हो।
प्रशासन, योजना र राजश्व सेवा
घुम्ती शिविरमार्फत प्रशासन शाखाबाट १४ वटा योजना सम्झौता सम्पन्न गरिएको छ भने १७ वटा उपभोक्ता समितिलाई बैंक खाता खोल्न सिफारिस गरिएको छ। साथै, २ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रशासन शाखाका प्रमुख विनोद नेपालले जानकारी दिनुभयो।
योजना सम्झौताका लागि आवश्यक स्थलगत अध्ययन गरी सब–इन्जिनियर घनश्याम ढाडा, इन्जिनियर लक्ष्मण बस्याल र देवेन्द्र थापाले आवश्यक स्टेटमेन्ट प्रमाणित गर्नुभएको थियो।
सामाजिक सेवा शाखाअन्तर्गत ६७ वटा व्यवसाय नवीकरण, २ वटा नयाँ दर्ता तथा ४ वटा व्यवसाय बन्द गरिएको सामाजिक सेवाका मनबहादुर सारुले जानकारी दिनुभयो।
व्यवसाय दर्ता तथा नवीकरणबाट ५४ हजार २४० रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखाका शेरबहादुर थापाले बताउनुभयो।
स्वास्थ्य सेवा
घुम्ती शिविरमा ६२ जनाले ओपीडी सेवा लिएका छन्। महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि गरिएको VIA परीक्षणमा ३९ जनाले सेवा लिएका मध्ये १ जनामा संक्रमणको सम्भावना देखिएको छ। पाठेघर खसेका ४ जनामध्ये ३ जनालाई रिङ राखिएको र १ जनालाई व्यायाम गर्न सल्लाह दिइएको छ।
६ जनाले परिवार नियोजन इम्प्लान्ट सेवा लिएका छन्। डा. सुरज भण्डारी, अहेब प्रतिभा घर्ती मगर र चन्दा चलाउनेसहितको टोलीले सेवा प्रदान गरेको पूर्वखोला स्वास्थ्य चौकीका प्रमुख मोहन ढकालले जानकारी दिनुभयो। शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो।
पशु, कृषि र शिक्षा सेवा
पशु शाखाबाट ७७ जना सेवाग्राहीका १ हजार १८८ पशुचौपायामा जुका, माटे र खुरेतको औषधि वितरण गरिएको पशु शाखा प्रमुख धनबहादुर दर्लामी र पशु प्राविधिक कृष्णा रायमाझीले जानकारी दिनुभयो।
कृषि शाखाबाट ९ जना कृषकको २० वटा माटो परीक्षण गरिएकोमा १–२ वटा नमुनामा हल्का अम्लीयपन देखिएको र कृषि चुन प्रयोग गर्न सल्लाह दिइएको कृषि शाखाका शेरबहादुर बुढा र कृषि प्राविधिक अमृता भट्टराईले बताउनुभयो।
शिक्षा शाखाबाट कक्षा ११/१२ का १५ जना विद्यार्थीलाई जनही ३ हजारका दरले ४५ हजार, अभिभावकविहीन १ जना प्रावि तहका विद्यार्थीलाई ५ हजार तथा मावि तहका ३ जनालाई जनही ९ हजारका दरले २७ हजार गरी जम्मा ७७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री तथा नगद वितरण गरिएको थियो। वितरण कार्य गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागिरथी भट्टराईले गर्नुभएको हो।
अन्य सेवा
भूमि सेवा अन्तर्गत कित्ता थप, कित्ता विवरण, क्षेत्र वर्गीकरणसम्बन्धी सेवा १५ जनालाई प्रदान गरिएको थियो।
वैदेशिक रोजगार सेवाअन्तर्गत १२ जनालाई विदेशमा मृत्यु, घाइते हुँदा पाउने सुविधा, आवश्यक कागजात, ठगी परेमा सम्पर्क गर्ने निकायबारे जानकारी दिइएको रोजगार सेवा केन्द्रका भुपेन गाहाले बताउनुभयो।
ग्लोबल आइएमई बैंक पुर्वखोला शाखाबाट १५ वटा उपभोक्ता समिति र २५ जना व्यक्तिगत खाताका लागि आवश्यक कागजात तयार गरिएको शाखा प्रबन्धक नारायण शर्माले जानकारी दिनुभयो। साथै विभिन्न १५ वटा संस्थाको स्ट्याम्प/छाप निर्माण सेवा पनि प्रदान गरिएको थियो।
जनप्रतिनिधिको धारणा
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले “सेवा गाउँपालिकाबाट होइन, नागरिकको घरआँगनमै पुग्नुपर्छ भन्ने अवधारणा अनुसार घुम्ती सेवा सञ्चालन गरिएको” बताउँदै गाउँपालिका भरि यस्तो सेवा विस्तार गरिने जानकारी दिनुभयो।
उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले महिलाको स्वास्थ्य समस्या समयमै पहिचान नगर्दा जटिलता बढ्ने भएकाले घुम्ती शिविरबाट स्वास्थ्य परीक्षण र उपचार सेवा लिन आग्रह गर्नुभयो।
सेवाग्राहीको प्रतिक्रिया
८५ वर्षीय मानबहादुर घर्तीले जेष्ठ नागरिक परिचयपत्र पाएपछि खुशी व्यक्त गर्नुभयो।
समाङसिंह धापखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मेघराज दर्लामीले “वडामै सबै सेवा पाउँदा सहज भएको” भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो।
महिला सेवाग्राही सावित्रा बी.के.ले नजिकै स्वास्थ्य परीक्षण र निःशुल्क औषधि पाएकोमा खुशी व्यक्त गर्नुभयो।
तर केही सेवाग्राहीले गुनासो पनि व्यक्त गरेका छन्। बेसर्घा बाख्रा फार्म सञ्चालक बसन्ती घर्तीले व्यवसाय नवीकरणमा समय लाग्ने गुनासो गर्नुभयो भने बोलीपोखरा–मोखकाल सडक उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर बरघरेले बैंक खाता खोल्न सहजीकरणको माग गर्नुभयो।
गाउँपालिकाका प्रशासकीय प्रमुख राजु नेपालले हाल सिफारिस, दर्ता, चलानीलगायत सेवा अनलाइन प्रणालीमार्फत प्रदान गरिँदै आएको जानकारी दिनुभयो।

फिचर पोस्ट 


प्रकाशित : २०८२ पुष ८ गते २३:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology