पूर्वखोला (पाल्पा) — पूर्वखोला गाउँपालिकाले जनताको आवश्यकता र सेवाको पहुँचलाई मध्यनजर गर्दै वडा नं. ५ विरकोटमा घरदैलो घुम्ती सेवा शिविर सञ्चालन गरेको छ।
शिविरमार्फत गाउँपालिकाका प्रशासनिक, सामाजिक, स्वास्थ्य, कृषि, पशु, शिक्षा, भूमि, वैदेशिक रोजगार तथा बैंकिङ सेवा एकै ठाउँमा उपलब्ध गराइएको थियो।
प्रशासन तथा सामाजिक सेवा
प्रशासन शाखाका प्रमुख विनोद नेपालका अनुसार २० वटा योजना सम्झौता सम्पन्न गर्दै २० उपभोक्ता समितिलाई बैंक खाता खोल्न सिफारिस गरिएको छ। सामाजिक विकास शाखाबाट ९४ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको जानकारी शाखा प्रमुख मनबहादुर सारुले दिनुभयो। 
राजस्व र व्यवसाय
राजस्व शाखाका शेरबहादुर थापाका अनुसार ३८ वटा व्यवसाय नवीकरण भई रु. ३७,६५० राजस्व संकलन गरिएको छ। स्वास्थ्य सेवा
स्वास्थ्य शाखाबाट ८३ जनाले ओपीडी सेवा, १७३ महिलाले VIA परीक्षण (पाठेघरको मुखको क्यान्सर पहिचान) गराएका मध्ये १ जनामा संक्रमणको सम्भावना देखिएको छ। २० जनाले ल्याब सेवा, १ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। डाक्टर सुरज भण्डारी, एएनएम प्रतिभा घर्ती मगर र चन्दा चलाउनेसहितको टोलीले निःशुल्क औषधि वितरण गरेको स्वास्थ्य चौकी प्रमुख मोहन ढकालले जानकारी दिनुभयो।
पशु तथा कृषि सेवा
पशु शाखाबाट ८५ सेवाग्राहीका २,२६५ पशुचौपायामा जुका–माटे–खुरेतको औषधि वितरण गरिएको पशु शाखा प्रमुख धनबहादुर दर्लामीले बताउनुभयो।
कृषि शाखाअन्तर्गत १० कृषकका ३० माटो परीक्षण गरिएकोमा २–४ नमुनामा हल्का अम्लियापन देखिएकाले कृषि चुन प्रयोग गर्न सल्लाह दिइएको कृषि प्राविधिक शेरबहादुर बुढाले जानकारी दिनुभयो।
शिक्षा तथा सामाजिक संरक्षण
शिक्षा शाखाबाट कक्षा ११/१२ का २७ विद्यार्थी र ४ जना अभिभावकविहीन गरी ३१ जनालाई शैक्षिक सामग्री तथा नगद सहयोग गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागिरथी भट्टराईले वितरण गर्नुभयो।
भूमि, वैदेशिक रोजगार र बैंकिङ सेवा
भूमि तथा घरजग्गा सेवाअन्तर्गत कित्ता थप, क्षेत्रफल, भूमि वर्गीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो।
वैदेशिक रोजगार शाखाबाट १२ जनालाई विदेशमा मृत्यु/घाइते हुँदा पाउने सुविधा, आवश्यक कागजात, ठगी भएमा सम्पर्क गर्ने निकायबारे जानकारी दिइयो।
ग्लोबल आईएमई बैंक पुर्वखोला शाखाबाट २० उपभोक्ता समिति र २५ व्यक्तिगत खाता खोल्न आवश्यक कागजात तयार गरिएको शाखा प्रबन्धक नारायण शर्माले जानकारी दिनुभयो।
जनप्रतिनिधिको धारणा

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष नुनबहादुर थापाले “सेवा घरदैलोमा पाउनु जनताको अधिकार हो” भन्दै सिंहदरबारको अधिकार गाउँ–घरमा पुर्याउने सरकारी लक्ष्यअनुसार पुर्वखोला गाउँपालिकाले नियमित रूपमा घुम्ती शिविर सञ्चालन गर्दै आएको बताउनुभयो।
उपाध्यक्ष भागिरथी भट्टराईले महिलाको समयमै स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गर्दै सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।
सेवाग्राहीको प्रतिक्रिया ८० वर्षीय मानबहादुर सारुले जेष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी व्यक्त गर्नुभयो।
गणपति माध्यमिक विद्यालय कक्षा १० की अभिभावकविहीन छात्रा सुरक्षाथापाले शैक्षिक सामग्री र नगद सहयोगले पढाइमा ठूलो राहत पुगेको बताउनुभयो।
समापन
प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले घुम्ती शिविरले सेवाग्राही र कर्मचारीबीच आत्मीयता बढाएको उल्लेख गर्दै सुझाव–सल्लाहका लागि सधैं खुला रहने बताउनुभयो। कार्यक्रम शिक्षा शाखा प्रमुख लोकहरि देवकोटाको सञ्चालन र वडा अध्यक्ष विष्णुबहादुर पल्लिको अध्यक्षतामा सम्पन्न भएको हो।
फिचर पोस्ट







प्रकाशित : २०८२ पुष १० गते २०:०२
Facebook Comment