विद्यालयदेखि प्रदेशसम्म खेलेका भलिबल खेलाडी याम आले अन्ततः विदेशिन बाध्य

माधब पाण्डे
प्रकाशित : २०८२ पुष १० गते २०:५९

माधव पाण्डे,जल्पा
पूर्वी पाल्पामा साविक वडा स्तरभित्र एकछत्र राज गर्दै आएका होनहार युवा भलिबल खेलाडी याम आलेलाई नचिन्ने र उनको भलिबल खेल नदेखेको व्यक्ति कमै भेटिन्छ। उत्कृष्ट स्पाइक, दमदार खेलशैली र अलराउन्डर क्षमताका कारण उनी दर्शक तथा खेलप्रेमीमाझ निकै लोकप्रिय छन्।
याम आलेको भलिबल यात्रा विद्यालयस्तरबाट सुरु भई पालिका, जिल्ला हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ। रम्भा गाउँपालिका–२, ब्रोमसे निवासी याम आले बुवा खोमबहादुर आले र आमा अञ्चनी आलेका कान्छा छोरा हुन्। उनका दुई दाजु र दुई दिदी छन्। सामान्य कृषक परिवारमा हुर्किएका आलेको परिवारको मुख्य पेशा कृषि नै हो।
करिब १६ वर्षको उमेरदेखि निरन्तर भलिबल खेल्दै आएका आलेले प्रदेशस्तरसम्म पुग्दा पनि आय–आर्जनको कुनै सुनिश्चित माध्यम नहुँदा धेरै अवसर गुमाउनुपरेको बताए। “खेल देखाउने ठाउँमा पुग्नै आर्थिक समस्या भयो,” उनले गुनासो गरे।
५ फिट ९ इन्च उचाइ भएका आलेले क्षमता हुँदाहुँदै पनि राजनीति र पहुँचका कारण धेरै प्रतियोगितामा खेल्न नपाएको दुखेसो पोखे। “धेरै क्लब, पालिका र जिल्लाबाट बोलावट त आउँथ्यो, तर आर्थिक अवस्था कमजोर हुँदा चाहेर पनि जान सकिन,” उनले भने।
उनका अनुसार न त स्थानीय सरकारले खेलाडीलाई उचित सम्मान र सहयोग दिन्छ, न त खेल क्षेत्रमै दीर्घकालीन रोजगारीको व्यवस्था छ। “उमेर रहुन्जेलसम्म मात्रै खेलिन्छ, त्यसपछि भविष्य के?” भन्ने प्रश्नले आफूलाई सताइरहेको उनले बताए।
याम आले भन्छन्, “देशमै बसेर खेल क्षेत्रमा केही गर्छु भन्ने खेलाडीले पसिना बेच्न बाध्य हुनुपरेको छ। यही कारण म पनि अब विदेश जाने तयारीमा पुगेको छु।”
अन्त्यमा उनले भावुक प्रश्न उठाए—
“खेलाडीले विदेशिनु नपरोस्, स्वदेशमै रोजगारी र सम्मान पाउने वातावरण कहिले बन्ला?”


प्रकाशित : २०८२ पुष १० गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology