एसबीआई बैंक पाल्पा शाखाले एक विशेष कार्यक्रमको आयोजना गरी दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई ल्यापटप, विभिन्न खेलकुद सामग्री तथा जाडोयाममा प्रयोग हुने न्यानो कपडा (विद्यालय पोशाक) सहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा एसबीआई बैंक पाल्पा शाखाका शाखा प्रबन्धक विजय घिमिरेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार आर्याल तथा विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक घिमिरेले दृष्टिबिहीन विद्यार्थीलाई समेट्दै शिक्षण गराइरहेको दमकडा माध्यमिक विद्यालयलाई एक बहुआयामिक विद्यालयको रूपमा स्थापित भएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि बैंकको तर्फबाट यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तानसेन नगरपालिका–९ का वडा अध्यक्ष राजेश कुमार आर्यालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रकाशित : २०८२ पुष १८ गते १७:२३
Facebook Comment