दुई वटा विधेयक जारी गर्दै रामपुर नगरपालिकाको नगरसभा तथा १८औँ अधिवेशन सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २१ गते १०:१७

पौष २० | रमा भण्डारी | रामपुर, पाल्पा
दुई वटा महत्वपूर्ण विधेयक जारी गर्दै रामपुर नगरपालिकाको नगरसभा तथा १८औँ अधिवेशन आइतबार सम्पन्न भएको छ। विभिन्न योजनाहरूको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित अधिवेशन सम्पन्न गरिएको हो।
नगरसभाका सदस्य तथा विधेयक समितिका संयोजक मिनबहादुर सिंजालीले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२ र विष्णुमाया गैरेले प्रस्तुत गर्नुभएको रामपुर नगरपालिका पर्यटन विकास विधेयक सर्वसम्मत रूपमा पारित भएका छन्।
त्यसैगरी, नगर उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको योजनाहरूको रकमान्तर तथा शीर्षकान्तर प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ। उपप्रमुख थापाका अनुसार चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६ सय २१ रुपैयाँ मध्ये वडा तथा नगरस्तरीय ८० वटा योजना तथा कार्यक्रमका लागि २ करोड ५ लाख ११ हजार रुपैयाँ रकमान्तर तथा शीर्षकान्तर गरिएको हो।
नमस्ते पाल्पा होटलको सभाहलमा सम्पन्न नगरसभाको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले नगरसभा आह्वान गर्नुभएको थियो। सभाध्यक्ष तथा नगर प्रमुख रमणबहादुर थापाले पानसमा बत्ती बालेर नगरसभाको उद्घाटन गर्दै बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षाका लागि नगरपालिका आवश्यक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
नगरसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख थापाले विकाससँगै नगरको पहिचान स्थापित गर्न नगरपालिकाले गरेका कार्यहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले जनताको चाहनाअनुसार स्रोत–साधनले भ्याएसम्म विकास र सेवालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
रामपुर नगरपालिका–१ का वडा अध्यक्ष तथा प्रवक्ता कपिलबहादुर खाँणले धन्यवाद ज्ञापन गर्दै देशलाई वर्तमान अवस्थासम्म ल्याउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्थानीय तहलाई प्राप्त २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकार कार्यान्वयनमा जनप्रतिनिधि कति जिम्मेवार बनेका छन् भन्ने विषय महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठकले विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
शून्य समयमा वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले नगरपालिकाले सञ्चालन गरेका राम्रो योजनालाई निरन्तरता दिँदै बाँकी कामलाई समेत समेटेर अघि बढ्नुपर्ने बताउँदै नगरपालिकाको कामको प्रशंसा गर्नुभयो।
शून्य समयमा रामपुर–४ का वडा सदस्य मोहम्मद अजिम शेख र वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले धारणा राखेका थिए भने विशेष समयमा रामपुर–७ का वडा अध्यक्ष दोवराज तिवारीले जिज्ञासा प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, रामपुर–४ का वडा सदस्य मोहनसिं रानाले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि राजस्वमा सहुलियत प्रदान गर्नुपर्ने सुझाव राख्नुभयो।


प्रकाशित : २०८२ पुष २१ गते १०:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology