पूर्वखोलामा सुनौलो हजार दिनका आमालाई लक्षित पोषण तथा स्तनपान सचेतना कार्यक्रम सम्पन्न
www.kandaranews.com प्रकाशित : २०८२ पुष २३ गते २१:४९
पाल्पा, पूर्वखोला
पूर्वखोला गाउँपालिकाको आयोजनामा पूर्वखोला–३ रिङ्नेरहस्थित रिङ्नेरह स्वास्थ्य चौकीद्वारा साबिक वडा नं. ३, बिर्तामा “पोषण कार्यक्रम” अन्तर्गत सुनौलो हजार दिनका आमालाई लक्षित स्तनपान तथा स्थानीय पोषणयुक्त एवं स्वस्थ खानाको प्रवर्द्धनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता यस वडाका वडा अध्यक्ष श्री कृष्ण प्रसाद भट्टराई ले गर्नुभएको थियो भने पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष श्री भागीरथी भट्टराई प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राजु नेपाल विशिष्ट अतिथि तथा स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकाल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष भागीरथी भट्टराईले आमा र शिशुको स्वास्थ्य संरक्षणमा सुनौलो हजार दिनको अवधिको विशेष महत्व रहेको उल्लेख गर्नुभयो। उहाँले यस अवधिमा सन्तुलित आहार, नियमित स्वास्थ्य जाँच तथा सही स्तनपान अभ्यासले शिशुको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
त्यसैगरी विशिष्ट अतिथि राजु नेपाल ले गाउँपालिकाले आमा तथा शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराउनुभयो। उहाँले स्थानीयस्तरमै उपलब्ध पोषणयुक्त खाद्य पदार्थको प्रयोगले कुपोषण न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल ले स्तनपानको वैज्ञानिक महत्व, शिशुलाई पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने आवश्यकता, तथा त्यसपछिका पूरक आहारको सही अभ्यासबारे सहभागी आमाहरुलाई जानकारी दिनुभएको थियो।
साथै स्थानीय रूपमा उपलब्ध सागसब्जी, दाल, गेडागुडी, फलफूल तथा घरेलु खानाको प्रयोगबारे समेत सचेतना गराइएको थियो।
कार्यक्रममा सहभागी आमाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। कार्यक्रम सभ्य, भव्य तथा सफलतापूर्वक सम्पन्न भएको आयोजक पूर्वखोला गाउँपालिकाले जनाएको छ।
Facebook Comment