एकीकृत मगर उत्थान समाज रामपुरको सातौँ अधिवेशन सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २७ गते २०:३०

पौष २७
रमा भण्डारी, रामपुर पाल्पा
एकीकृत मगर उत्थान समाज रामपुरको सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन समाजका अध्यक्ष देवबहादुर थापा मस्र्याङ्दीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामबहादुर राना रहनु भएको थियो।

प्रमुख अतिथि रानाले पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको इतिहासमा मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। मगर समुदायले भोग्नुपरेका चुनौतीप्रति सचेत रहँदै अझै चेतनाको विकास आवश्यक रहेको उहाँको भनाइ थियो। पाल्पा जिल्ला मगर समुदायको बाहुल्यता भएको जिल्ला भएकोले हरेक क्षेत्रमा अग्रसर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सातौँ अधिवेशनले जुझारु र सक्षम समिति चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। प्रकृतिपूजक मगर समुदायले इमान्दारिता र वीरताको इतिहास रचेको उल्लेख गर्दै नयाँ पुस्तालाई शिक्षा र प्रविधिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

संस्थाका उपाध्यक्ष कुमार जर्घाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा संस्थाको इतिहास, वर्तमान अवस्था तथा भावी योजनासम्बन्धी प्रतिवेदन अध्यक्ष देवबहादुर थापा मस्र्याङ्दीले प्रस्तुत गर्नुभयो।
कार्यक्रममा एकीकृत मगर उत्थान समाजका सल्लाहकार क्या धनबहादुर राना तथा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य थर्कबहादुर रानाले आर्थिक पारदर्शिता र सुशासनको आवश्यकता औँल्याउँदै जुझारु समिति चयन होस् भनी शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी नेपाली कांग्रेस रामपुर नगर सचिव चिरञ्जीवी सिक्देल, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुर नगर अध्यक्ष राजेन्द्रप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टी रामपुर नगर संयोजक फणेश्वर गौतम, निस्दी समाजका अध्यक्ष गोपाल अर्याल, सिलुवा समाजका अध्यक्ष नारायण श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभयो।

कार्यक्रममा रामपुर अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा. शान्तबहादुर रोकामगर तथा निस्दी गाउँपालिका वडा नम्बर १ बामलाङकी डा. शकुन्तला पुलामी मगरलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै डा. रोकामगरले शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा मगर समुदाय नेतृत्व तहमा पुग्न सफल हुँदै गएको उल्लेख गर्दै सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

समाजमा हाल ७०१ घरधुरी आबद्ध रहेका छन्। नमस्ते होटलको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जमुना रानाले गर्नुभएको थियो भने कार्यक्रमको समापनमा दुर्गा देवी रानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
अधिवेशनले नयाँ समिति चयनका लागि बन्दसत्र जारी रहेको जनाइएको छ।

फिचर पोस्ट 


प्रकाशित : २०८२ पुष २७ गते २०:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology