पौष २९ | रमा भण्डारी
रामपुर, पाल्पा
पाल्पा जिल्लामै संस्थागत विद्यालयतर्फ पहिलो पटक रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ (ISO) लोगो प्राप्त गर्न सफल भएको छ।
विद्यालयले शैक्षिक, व्यवस्थापकीय तथा भौतिक पूर्वाधारसम्बन्धी विभिन्न मापदण्डमध्ये करिब २५ प्रतिशत मापदण्ड पूरा गरेपछि आइएसओ लोगो प्राप्त गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले ढुङ्गे चौतारीबाट सुरु भई खरको छाना, जस्ताको छाना हुँदै आज पक्की भवनसहित अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने स्तरसम्म विद्यालय आइपुग्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अहिलेको शिक्षा पढ्दै कमाउने, व्यवहारिक, संस्कारयुक्त र विद्यार्थीको रुचिअनुसारको हुनुपर्नेमा जोड दिनुभयो। साथै प्रविधिमैत्री तथा आधुनिक शिक्षा आजको आवश्यकता भएको भन्दै ढिलासुस्तीले नहुने धारणा राख्नुभयो।
उहाँले विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध नङ र मासुजस्तै हुनुपर्ने उल्लेख गर्दै संयुक्त प्रयासकै कारण विद्यालय आजको स्थानसम्म आइपुगेको बताउनुभयो। समयअनुसार शिक्षामा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्दै २०४८ सालदेखि सञ्चालनमा आएको विद्यालयमा हाल १ हजार १ सय ३९ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँले विद्यालयका क्रियाकलापलाई व्यवस्थित बनाउँदै आइएसओ मापदण्ड पूरा गर्ने दिशामा विद्यालय लागिरहेको बताउनुभयो।
कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नगर शिक्षा शाखा अधिकृत विकल काफ्ले, दरैठाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोख्रेल, आनन्द निकेतन विद्याश्रमका प्रधानाध्यापक गोविन्दप्रसाद पौड्याल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोख्रेल, नगर बाल सञ्जालका अध्यक्ष शारदा प्रसाद श्रेष्ठ, विद्यार्थी सृष्टि सुनार र हृदम भण्डारीलगायतले विद्यालयको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका फोकल पर्सन सुदीप शर्माले विद्यालय परिवारलाई औपचारिक रूपमा आइएसओ लोगो हस्तान्तरण गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक तथा भौतिक प्रगतिका २५ प्रतिशत मापदण्ड पूरा गरी आइएसओ लोगो प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक खुम सारुले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
फिचर पोस्ट

प्रकाशित : २०८२ पुष २९ गते १९:२०
Facebook Comment