पूर्वखोला गाउँपालिका गाउँसभाको १९औँ अधिवेशन सम्पन्न भएको छ। हिउँदे/विद्यायन अधिवेशनमा “पूर्वखोला गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व” सम्बन्धी विधेयक पारित गरिएको छ।
अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामै सबैभन्दा कम आन्तरिक आम्दानी भएको गाउँपालिका पूर्वखोला भए पनि यहाँ भएका कामहरू देशकै नमुना रहेको उल्लेख गर्नुभयो।
उहाँले सामुदायिक विद्यालय समायोजन गरी एकद्वार शिक्षा सञ्चालन, प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी शून्य होम डेलिभरी हासिल गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो। साथै, स्थानीय बासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै कृषि, पशुपालन, पर्यटन, रोजगारी, सडक तथा प्रशासनिक भवन सञ्चालन–व्यवस्थापन राम्रो रहेको उल्लेख गर्नुभयो। निर्माण भएका संरचनाको मर्मत–सम्भारमा ध्यान दिनुका साथै स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुजन्य वस्तुको बजार व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
अधिवेशनले चालु आर्थिक वर्षको खर्च अनुमोदन, कार्यपालिकाका निर्णय अनुमोदन, बेरुजु फछ्र्योट कार्यविधि, लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि, गाउँसभा सचिवालय स्थापना तथा सञ्चालन कार्यविधि, फलफूल बगैँचा स्थापना तथा सुदृढीकरण कार्यक्रम सञ्चालन कार्यविधि २०८२ पारित गरेको छ।
त्यसैगरी विभिन्न विषयगत समितिका संयोजकहरूद्वारा प्रस्तुत प्रतिवेदन, महालेखापरीक्षक कार्यालयको प्रतिवेदन, बजेट संशोधन प्रस्तावमाथि छलफल गरी पारित गरिएको छ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँसभाको कार्यसूची प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष भागिरथी भट्टराईले प्रस्तावहरू पेश गर्नुभएको थियो। विभिन्न शाखाबाट कार्यान्वयन भएका कार्यक्रमहरूको खर्च विवरण र प्रगति प्रतिवेदन प्रशासकीय प्रमुख राजु नेपालले प्रस्तुत गर्नुभएको थियो। साथै, गाउँपालिका बाल अधिकार अधिकृत देव ढेंगाले स्थानीय बालमैत्री शासन सम्बन्धी गाउँपालिकाले तयार पारेको कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।
गाउँसभामा सदस्यहरू कृष्णप्रसाद भट्टराई, भुवन सिँजाली र मेहरसिं थापाले समसामयिक विषयमा गुनासो तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। गाउँसभा सदस्यहरूबाट उठेका गुनासालाई अध्यक्ष थापा र प्रशासकीय प्रमुख नेपालले सम्बोधन गर्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको गाउँसभा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।


फिचर पोस्ट

प्रकाशित : २०८२ माघ १ गते २०:५४
Facebook Comment