माघ १ | रमा भण्डारी
रामपुर, पाल्पा
माघे सङ्क्रान्तिको अवसरमा प्रथम माघे सङ्क्रान्ति मेला तथा मगर खाना महोत्सव २०८२ रामपुर नगरपालिका–२, बादरकुनास्थित भलायटारमा सम्पन्न भएको छ। मगर समुदायको मौलिक संस्कृति, भाषा र खानाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भलायटार मगर समाजको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा कार्यक्रम गरिएको हो।
महोत्सवमा सहभागीहरूले तरुल, पिँडालु, बटुक, सेल, कोदोको सेल, सखरखण्ड तथा बंगुरको मासुका परिकारको स्वाद चाखेका थिए। साथै कौरा, मारुनी, झ्याउरे र पञ्चे बाजामा उपस्थितहरू रमाउँदै नाचेका थिए। मेला परिसरमा निर्माण गरिएको कुँडले घरसहितको संग्रहालय नमुना तथा मगर भेषभूषामा सजिएका आकृतिसँग फोटो खिच्न दर्शकहरू व्यस्त देखिन्थे।
महोत्सवको सुरुवात भलायटार बजारबाट झाँकीसहितको र्यालीबाट गरिएको थियो। र्याली बादरकुना पुगेपछि मगर संस्कृतिअनुसार देवताको थानमा पूजा गरी औपचारिक कार्यक्रम सुरु गरिएको हो।
भलायटार मगर समाजका अध्यक्ष पहल सिंह रानाको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथि रहनु भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले मगर समुदाय संस्कृतिमा धनी र सामाजिक सद्भाव कायम गर्न अग्रसर समुदाय रहेको बताउँदै, संस्कृतिको जगेर्नाका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय बी.पी. चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले मगर समुदायको गौरवमय इतिहास र देश निर्माणमा दिएको योगदानको चर्चा गर्नुभयो। साथै रामपुर नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँण र वडा नं. २ का अध्यक्ष कृष्णबहादुर दर्जीले मगर समुदायको एकता र मेलमिलापको संस्कृति सबैले अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो।
समाजसेवी बोमबहादुर थापाले यस क्षेत्रका धेरै स्थानका नाम मगर भाषाबाटै नामाकरण हुनु समुदायको ऐतिहासिक बसोबासको प्रमाण भएको बताउनुभयो। भलायटार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर कुमालले कार्यक्रमले संस्कृति संरक्षणसँगै क्षेत्रको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।
अध्यक्ष रानाले नयाँ पुस्ताले भाषा र संस्कृति बिर्सिँदै गएकाले तिनलाई जानकारी दिन तथा माघे सङ्क्रान्तिको मौलिकता जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रम संयोजक लक्ष्मण थापाका अनुसार महोत्सवमा कौरा, मारुनी, झ्याउरे नाच, मौलिक झाँकी प्रदर्शन, महिला तथा पुरुष भलिबल, छेलो फाल्ने र डोरी तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, सहयोगी दातालाई सम्मान तथा यु–१९ राष्ट्रिय महिला भलिबल खेलाडी विनिता रानालाई विशेष सम्मान गरिएको थियो। साथै सडकमा सवारी चेकजाँचका लागि मगर समाजले आवश्यक सामग्रीसमेत सहयोग गरेको जनाएको छ।
मगर समुदायले माघे सङ्क्रान्तिलाई ‘मिनाम ल्हेस’ (नयाँ वर्ष) का रूपमा मनाउने गर्दछन्। २०७८ सालको जनगणना अनुसार पाल्पा जिल्लाको कुल जनसंख्या २ लाख ४२ हजार ४२३ मध्ये मगर समुदायको संख्या १ लाख २७ हजार ४५० रहेको छ।

फिचर पोस्ट



प्रकाशित : २०८२ माघ ३ गते ११:५१
Facebook Comment