दोहामा बृहद् रक्तदान कार्यक्रम, जनवरी २३ मा हमाद अस्पतालमा आयोजना हुँदै

प्रवीण तिमल्सिना
प्रकाशित : २०८२ माघ ७ गते ०:०८

दोहा — परोपकारी तथा मानवीय सेवाको उद्देश्यसहित आगामी शुक्रबार २३ जनवरी २०२६ का दिन कतारको राजधानी दोहामा बृहद् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम पर्वत जलजला समाज कतार र आर्थर डाडाखर्क समाज कतारको संयुक्त आयोजनामा हुन लागेको हो।
“रक्तदान, जीवनदान” भन्ने मूल नाराका साथ आयोजना हुने यस कार्यक्रममा आकस्मिक दुर्घटना, शल्यक्रिया तथा विभिन्न गम्भीर रोगका कारण रगतको अभाव झेलिरहेका बिरामीहरूको जीवन रक्षामा सहयोग पुर्‍याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै मानव सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूको भनाइ छ।
कार्यक्रम हमाद मेडिकल कर्पोरेसनअन्तर्गतको ब्लड डोनेसन सेन्टर (हमाद अस्पताल) मा आयोजना गरिनेछ। रक्तदान कार्यक्रम बिहान ८:०० बजेदेखि सुरु हुने जानकारी आयोजकले दिएको छ। कार्यक्रमलाई सुरक्षित, व्यवस्थित तथा स्वास्थ्य मापदण्डअनुसार सञ्चालन गरिने जनाइएको छ।
कतारमा रहेका नेपाली समुदायका साथै अन्य इच्छुक व्यक्तिहरूलाई समेत कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ। रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले यसलाई सबैभन्दा ठूलो मानवीय सेवा मानिँदै आएको छ। यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको सहज उपलब्धतामा सहयोग पुग्नुका साथै समुदायबीच आपसी सहकार्य र सामाजिक एकता बलियो बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
आयोजकका अनुसार मानव सेवाको यस महान् कार्यलाई सफल बनाउन दोहाबासी दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता अत्यावश्यक रहेको छ। सबैलाई आफ्नो अमूल्य समय दिएर रक्तदानमार्फत जीवन बचाउने अभियानमा सहभागी हुन आयोजक पक्षले हार्दिक अनुरोध गरेको छ।


प्रकाशित : २०८२ माघ ७ गते ०:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology