पाल्पामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ३० जनाको उम्मेदवारी दर्ता

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ माघ ८ गते १४:५७

माघ ७ | रमा भण्डारी | रामपुर, पाल्पा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पाका दुई वटा निर्वाचन क्षेत्रमा गरी ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार पाल्पा निर्वाचन क्षेत्र नं. १ मा ९ राजनीतिक दलका ९ जना र ४ जना स्वतन्त्र गरी १३ जना तथा क्षेत्र नं. २ मा १४ राजनीतिक दलका १४ जना र ३ जना स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारहरू
क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट निवर्तमान सांसद नारायणप्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाल कम्युनिष्ट पार्टीबाट हुम सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल पन्त, राष्ट्रिय जनमोर्चाबाट नरमती सिङ्जाली उम्मेदवार बनेका छन्।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा उम्मेदवार रहेका छन्।
स्वतन्त्रतर्फ कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाँ गरी ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले उक्त जानकारी दिनुभएको हो।
पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरू
पाल्पा क्षेत्र नं. २ मा नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा र राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी उम्मेदवार छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी पार्टीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टोपबहादुर अस्लामी, मंगोल नेशनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी र नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वाले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्रतर्फ मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी ३ जना उम्मेदवार रहेका छन्। सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिनुभयो।
मतदाता विवरण
पाल्पामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन्। तीमध्ये निर्वाचन क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्। कुल मतदातामध्ये महिला मतदाता पुरुषभन्दा ३ हजार ६ सय ५० ले बढी रहेका छन्।
२०७९ सालको निर्वाचनको तुलनामा यस पटक ६ हजार १ सय १० जना मतदाता थपिएका छन्। पाल्पा क्षेत्र नं. १ मा ११७ वटा र क्षेत्र नं. २ मा १ सय ३४ वटा मतदान केन्द्र तोकिएका छन्।


प्रकाशित : २०८२ माघ ८ गते १४:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology