रामपुर, पाल्पा — माघ ९ गते श्रीपञ्चमी पर्वका अवसरमा विद्या, बुद्धि र सिर्जनात्मकताको प्रतीक देवी सरस्वतीको पूजा गरि किसान बहुप्राविधिक शिक्षालय, स्याङ्जा चापाकोटमा भजन–कीर्तन तथा पूजा आराधना कार्यक्रम सम्पन्न भएको छ।
सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई विशेष बनाउँदै शिक्षालयका पूर्व विद्यार्थीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
पशु विज्ञान अध्ययन गरी हाल डेनमार्कमा ओजेटी (On-the-Job Training) का लागि गएका पूर्व विद्यार्थीहरू सचिन घिमिरे, प्रवेश भण्डारी र सन्देश श्रेष्ठले भजन–कीर्तन तथा पूजा कार्यक्रमको सम्पूर्ण खर्च सहयोगस्वरूप प्रदान गर्नुभएको शिक्षालयले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै शिक्षालयका कार्यालय प्रमुख शिव पाण्डेले हाल शिक्षालयमा पशु विज्ञान, कृषि लगायतका प्राविधिक धारका विषयहरू अध्यापन गराइँदै आएको बताउनुभयो। साथै, पूर्व विद्यार्थीहरूको यस्ता सहयोगले शैक्षिक संस्था र विद्यार्थीबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
श्रीपञ्चमी पर्वको अवसरमा आयोजित यस कार्यक्रमले शिक्षालयमा धार्मिक, सांस्कृतिक तथा शैक्षिक वातावरणलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।
प्रकाशित : २०८२ माघ १० गते २२:०३
Facebook Comment