रामपुर–७ ले कृषकलाई मिनी टिलर वितरण

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ माघ १२ गते १९:४६

रामपुर (पाल्पा) । रामपुर नगरपालिका वडा नम्बर ७ ले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ।
आज मिति माघ ११ गते आयोजित कार्यक्रममा वडा कार्यालयले माथिल्लो भेगका कृषकहरूलाई खेतीपातीमा देखिएको समस्या समाधान गर्न मिनी टिलर उपलब्ध गराएको हो। पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको र खेतबारी खनजोत गर्न समस्या भएपछि कृषकहरूबाट निवेदन संकलन गरी मिनी टिलर वितरण गरिएको वडा सदस्य मिनबहादुर सिंजालीले जानकारी दिनुभयो।
कार्यक्रममा वडा अध्यक्ष दोवराज तिवारीले बोल्दै माथिल्लो भेगका कृषक दाजुभाइ तथा दिदीबहिनीहरूको समस्यालाई मध्यनजर गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि सहयोग गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडाले यस कार्यक्रमका लागि २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो भने कृषकहरूबाट समेत २ लाख १० हजार रुपैयाँ संकलन गरी जम्मा ४ लाख २० हजार रुपैयाँको लागतमा ७ वटा मिनी टिलर खरिद गरिएको हो। प्रत्येक मिनी टिलरको मूल्य ६० हजार रुपैयाँ रहेको छ, जसमा ३० हजार रुपैयाँ वडा कार्यालय र ३० हजार रुपैयाँ कृषकले व्यहोरेका छन्।
मिनी टिलर किसान १७८ एफ–७ एचपी मोडेलका कृषि औजारहरू शेरबहादुर पुलामी, मोहनबहादुर ठाडा, दलबहादुर सिंजाली, तिलबहादुर श्रेष्ठ, गमबहादुर आले, महेन्द्र दिसुवा र भुमबहादुर श्रेष्ठलाई वितरण गरिएको वडा अध्यक्ष तिवारीले जानकारी दिनुभयो।
वडा सदस्य तथा कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य एवं न्यायिक समिति सदस्य खेमराज अधिकारीले कृषि औजारको सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न आग्रह गर्नुभयो। साथै कृषक तिलबहादुर श्रेष्ठले ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रम वडा अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव गीता पौड्यालले गर्नुभएको थियो।


प्रकाशित : २०८२ माघ १२ गते १९:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology