फागुन १३, रमा भण्डारी, रामपुर (पाल्पा)
पाल्पा क्षेत्र नं. १ का सन्दिप राना ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ लाई देशकै नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमार्फत क्षेत्रलाई नमुना संसदीय क्षेत्र बनाउने उहाँको घोषणा छ।
रम्भा गाउँपालिका–१, साठी बजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार रानाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, ऊर्जा, पर्यटन तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर समग्र विकासको खाका प्रस्तुत गर्नुभयो। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ पाल्पाद्वारा सार्वजनिक घोषणा–पत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “देशभर १६५ वटा निर्वाचन क्षेत्र छन्। म सांसद भएको खण्डमा पाल्पा क्षेत्र नं. १ लाई नेपालकै नमुना संसदीय क्षेत्र बनाउनेछु।”
क्षेत्रको समृद्धिका लागि पर्यटन प्रमुख आधार भएको उल्लेख गर्दै रानाले वैदिक स्मार्ट सिटी, गौरव पर्यटन र सांस्कृतिक पर्यटनको अवधारणा अघि सार्नुभयो। वैदिक ग्रन्थ तथा पुराणमा उल्लेखित कालीगण्डकी उपत्यकालाई ‘वैदिक स्मार्ट सिटी’का रूपमा, ऐतिहासिक कोट र गढी समेटिएका क्षेत्रलाई ‘गौरव पर्यटन’का रूपमा, तथा दक्षिण भेगमा रहेका आदिवासी जनजाति समुदाय बसोबास क्षेत्रलाई ‘सांस्कृतिक पर्यटन केन्द्र’का रूपमा विकास गर्ने योजना उहाँले सुनाउनुभयो।
पर्यटनमार्फत स्वरोजगार सिर्जना गर्दै स्वदेश तथा विदेशमा सिकेका सीप र अनुभव आफ्नै गाउँमा उपयोग गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। गाउँका उर्वर जमिन बाँझो रहँदा बसाइँसराइ बढ्दो क्रममा रहेको उल्लेख गर्दै ‘आदर्श गाउँ’ अवधारणा अघि सारिएको उहाँको भनाइ छ।
पूर्वाधारतर्फ आर्यभञ्ज्याङ–हुमिन–ताहुँ–बिरकोट–जङ्गादी–बेलडाँडा–रामपुर सडक स्तरोन्नति गर्ने, पहाड र तराई जोड्ने अरुणखोला–मित्याल–रामपुर सडक खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने तथा पर्यटनसँग जोडिएका सडक सञ्जाल विस्तार गर्ने योजना उहाँले सार्वजनिक गर्नुभयो। पाँच वर्षभित्र पाल्पाका सबै स्थानमा केन्द्रीय विद्युत् लाइन विस्तार गर्ने लक्ष्य पनि घोषणा गर्नुभयो।
शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको स्तरोन्नतिलाई प्राथमिकता दिने उल्लेख गर्दै रानाले भ्रष्टाचार नै मुलुकको विकासको प्रमुख बाधक भएको बताउनुभयो। नीतिगत तथा कार्यगत भ्रष्टाचार अन्त्य गर्दै पारदर्शी प्रशासन र संयन्त्र निर्माणका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने उहाँको प्रतिबद्धता छ। “सुशासन र भ्रष्टाचार अन्त्यका लागि जनताको चाहना स्पष्ट छ, त्यसैले यो निर्वाचन विशेष महत्वको छ,” उहाँले भन्नुभयो।
पाल्पा–१ बाट एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने संकल्प पनि उहाँले व्यक्त गर्नुभयो। साथै कालीगण्डकी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आईटी कलेज स्थापना गर्ने, पालिकास्तरका अस्पताललाई आधुनिक प्रविधियुक्त बनाउने, रामपुर अस्पताललाई ट्रमा सेन्टर तथा जलन उपचार केन्द्रका रूपमा विकास गर्ने र स्वास्थ्य चौकीमा एचए तहसम्मको दरबन्दी सुनिश्चित गर्न नीतिगत पहल गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो।
“नेता चुनाव जितेपछि फर्किँदैनन्” भन्ने जनगुनासो सम्बोधन गर्न ‘मेरो सांसद्, मेरो अधिकार’ कार्यक्रमअन्तर्गत प्रत्येक पालिकामा नागरिक–सांसद संवाद केन्द्र स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारी ले जनताको परिवर्तनको चाहनाअनुसार कांग्रेसले विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का सभापति झमन राज मगर को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रम्भा गाउँपालिकाका सभापति ऋषिराम अर्याल ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन रामपुर नगर सचिव ओमप्रकाश बस्यालले गर्नुभएको थियो।

प्रकाशित : २०८२ फागुन १४ गते २०:१९
Facebook Comment