पाल्पा–१ का उम्मेद्वार सुनारीको प्रतिबद्धता सार्वजनिक

www.kandaranews.com
प्रकाशित : २०८२ फागुन १४ गते २०:४१

पाल्पा । नेपाली कम्युनिष्ट पार्टी का प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार हुम बहादुर सुनारी मगरले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। तानसेनमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले पूर्वी पाल्पाको समग्र विकासका लागि स्पष्ट खाका प्रस्तुत गर्नुभएको हो।
उम्मेद्वार सुनारी मगरले आदिवासी जनजातिको बहुल्यता रहेको क्षेत्रको पहिचान र स्थानीय उत्पादनलाई आर्थिक समृद्धिसँग जोड्ने योजना अघि सारेको बताउनुभयो। विशेषगरी पाल्पामा परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिरा ‘तीनपाने रक्सी’लाई व्यवस्थित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
“तीनपाने रक्सी हाम्रो पहिचान हो। यसलाई गुणस्तर मापदण्डअनुसार उत्पादन, उचित प्याकेजिङ र बजार विस्तारमार्फत रोजगारी र आम्दानीसँग जोड्नेछौं,” उहाँले भन्नुभयो।
त्यसैगरी रामपुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने, आर्यभञ्ज्याङ–ताहुँ–रामपुर सडक खण्डको स्तरोन्नति गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
उम्मेद्वार सुनारीले कालीगण्डकी डाइभर्सनको विषयमा आफू स्पष्ट रूपमा विरोधमा रहेको उल्लेख गर्नुभयो। “कालीगण्डकी हाम्रो सभ्यता र पहिचान बोकेको सम्पदा हो। यसलाई डाइभर्सन गरेर होइन, संरक्षण गर्दै स्थानीयको आयआर्जनसँग जोड्नुपर्छ,” उहाँले बताउनुभयो।
कालीगण्डकी सभ्यताको संरक्षण गर्दै हुँगी क्षेत्रमा ड्याम निर्माण गरी विद्युत उत्पादन गर्ने दीर्घकालीन योजना रहेको समेत उहाँले जानकारी दिनुभयो।
पत्रकारसँगको अन्तरक्रियामा उम्मेद्वार सुनारीले पूर्वी पाल्पाको पहिचान, कृषि उत्पादन वृद्धि, प्राकृतिक स्रोत संरक्षण र स्थानीय रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आफ्नो चुनावी अभियान अघि बढाइएको स्पष्ट पार्नुभयो।


प्रकाशित : २०८२ फागुन १४ गते २०:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology