पाल्पामा निर्वाचन सामग्री मतदान केन्द्रमा पुग्यो, हेक्लाङमा विवाद

माधब पाण्डे , जल्पा
प्रकाशित : २०८२ फागुन १८ गते २२:१३

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री लिएर कर्मचारीहरू जिल्लाका विभिन्न मतदान केन्द्रमा पुगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार अधिकांश केन्द्रमा मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्री पुर्‍याइएको छ।
तर पूर्वखोला गाउँपालिका वडा नं. ६ स्थित हेक्लाङ स्वास्थ्यचौकीमा भने मतदान केन्द्रलाई लिएर विवाद उत्पन्न भएको छ। मतदान केन्द्र स्थानान्तरण गर्न स्थानीयले दिएको निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनीहरूले स्वास्थ्यचौकीमा सामग्री राख्न अवरोध गरेका हुन्।
स्थानीयले पायक पर्ने स्थानमा केन्द्र सार्न माग गर्दै यसअघि नै सम्बन्धित निकायमा निवेदन दिएका थिए। माग सम्बोधन नभएपछि सामग्रीलाई नजिकैको बालहित प्राथमिक विद्यालयमा राख्न माग गरिएको स्थानीय हरिबहादुर बाह्रघरेले बताए।
उनले भने, “स्वास्थ्य सेवा प्रवाह निरन्तर भइरहोस् भन्ने मात्र हाम्रो कुरा हो। यहाँ बर्थिङ सेन्टर सञ्चालनमा छ। मतदान केन्द्रका रूपमा प्रयोग गर्दा सेवा अवरुद्ध हुन सक्छ।”
उनका अनुसार सबै निर्वाचन सामग्री सुरक्षाकर्मीको निगरानीमा सुरक्षित रहेको छ र आफूहरूले निर्वाचन विथोल्ने उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
पूर्वखोला गाउँपालिका–६ हेक्लाङ स्वास्थ्यचौकी ‘क’ केन्द्रमा देविप्रसाद बस्याल र ‘ख’ केन्द्रमा नित्यानन्द खनाल मतदान अधिकृतका रूपमा खटिएका छन्। उनीहरूले सम्पूर्ण सामग्रीसहित निर्वाचन अधिकृतको कार्यालयको निर्णयको प्रतीक्षामा रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीका अनुसार विषयमा छलफल भइरहेको छ। आज कर्मचारी र सामग्री स्वास्थ्यचौकीमै रहने र मंगलबार सुरक्षा निकायसहित निर्वाचन अधिकृतको कार्यालयमा समन्वय गरिने उनले जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रमा कर्मचारी तथा सामग्री परिचालन भइसकेको छ।
हाम्रो कन्दरा न्युजका प्रतिनिधि माधब पाण्डेले जानकारी दिनुभएको हो।


प्रकाशित : २०८२ फागुन १८ गते २२:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology