३४ वर्षपछि पाल्पा–१ मा कांग्रेसको जित, सन्दीप राना निर्वाचित

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ फागुन २४ गते १२:२५

रामपुर, पाल्पा | फागुन २४
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत पाल्पा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना ऐतिहासिक जितसहित निर्वाचित हुनुभएको छ। रानाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।
शनिबार साँझ सम्पन्न अन्तिम मतगणना परिणाम अनुसार रानाले १८ हजार ३३६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका आचार्यले १६ हजार ८१९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गर्नुभएको छ।
अन्य उम्मेदवारहरूमा नेपाल कम्युनिष्ट पार्टीका हुम बहादुर सुनारी मगरले ९५१ मत, नेशनल रिपब्लिक नेपालका थमन सिंह रेश्मी मगरले ६७१ मत, मंगोल नेशनल अर्गनाइजेशनका सलन चिदी मगरले २३५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्यालले २०२ मत र राष्ट्रिय जनमोर्चाका नरमती सिंजालीले १४० मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का पुरन गैह्रे शर्माले ४८ मत, स्वतन्त्र उम्मेदवार डिल्ली राज काफ्लेले १६ मत, कोशल अर्यालले ३० मत, वाछा दली मियाँले ३५ मत र युद्धबहादुर विरकट्टाले ८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो।
यस निर्वाचन क्षेत्रमा खसेको कुल ५४ हजार २१६ मत मध्ये ५१ हजार ८२४ मत सदर भएको छ भने २ हजार ३९२ मत बदर भएको छ।
रानाको जितसँगै पाल्पा–१ मा करिब ३१ वर्षपछि नेपाली कांग्रेसले जित हात पारेको छ। २०५१ सालदेखि लगातार नेकपा एमालेले जित्दै आएको यो क्षेत्रमा यस पटक कांग्रेसले ऐतिहासिक पुनरागमन गरेको हो।
३८ वर्षीय राना विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। विद्यालयकालदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध रहँदै जिल्ला सदस्य हुँदै सक्रिय राजनीतिमा लाग्नुभएका राना हाल नेपाली कांग्रेसका महासमिति सदस्य तथा लुम्बिनी प्रदेश सदस्य समेत हुनुहुन्छ। राजनीति शास्त्रमा स्नातक गर्नुभएका राना हाल कानुन अध्ययनरत पनि हुनुहुन्छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रानालाई निर्वाचन अधिकृत दशरथ पंगेनीले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको छ।


प्रकाशित : २०८२ फागुन २४ गते १२:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology