पाल्पाका १० पालिकाको कार्यसम्पादन नतिजा सार्वजनिक, बगनासकाली शीर्ष स्थानमा

www.kandaranews.com
प्रकाशित : २०८२ फागुन २८ गते २१:४७

पाल्पा — पाल्पाका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा बगनासकाली गाउँपालिका ७१.९६ अंकसहित जिल्लामै पहिलो स्थानमा परेको छ भने पूर्वखोला गाउँपालिका ५६.८७ अंकसहित सबैभन्दा अन्तिम (१०औँ) स्थानमा परेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले बुधबार सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार जिल्लाका स्थानीय तहहरूको समग्र कार्यसम्पादन भने मध्यम स्तरको देखिएको छ।


अन्तिम नतिजामा रिब्दीकोट गाउँपालिका ६९.९४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने रम्भा गाउँपालिका ६७.१९ अंकसहित तेस्रो स्थानमा परेको छ। त्यस्तै तानसेन नगरपालिका ६६.८०, रैनादेवी छहरा गाउँपालिका ६६.७६, रामपुर नगरपालिका ६५.६१, माथागढी गाउँपालिका ६०.९२, तिनाउ गाउँपालिका ६०.१७ र निस्दी गाउँपालिका ५७.६० अंक प्राप्त गरेका छन्।
यसअघि सार्वजनिक भएको प्रारम्भिक नतिजामा भने रिब्दीकोट गाउँपालिका पहिलो स्थानमा थियो।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ। बजेट समयमै पेश तथा पारित गरेको अवस्था, राजश्व संकलन, खर्च व्यवस्थापन, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) प्रयोग, तथा शिक्षा क्षेत्रका विभिन्न सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरिने व्यवस्था रहेको छ।
यसै मूल्यांकनका आधारमा सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।


प्रकाशित : २०८२ फागुन २८ गते २१:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology