पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रत्येक वडामा आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य संरचना निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ।
पहिले सामान्य उपचारका लागि पनि तानसेन र बुटवल धाउनुपर्ने बाध्यता रहेकोमा अहिले गाउँमै दक्ष स्वास्थ्यकर्मीमार्फत सेवा उपलब्ध हुन थालेको छ। गाउँपालिका अध्यक्ष नुन बहादुर थापाका अनुसार “नागरिकको स्वास्थ्य सबल नभएसम्म अन्य विकासको अर्थ हुँदैन” भन्ने मान्यताका साथ स्वास्थ्य क्षेत्रमा लगानी बढाइएको हो।
गाउँपालिकाका ६ वडामध्ये वडा नं. ४ बाहेक अन्य सबै वडामा नयाँ स्वास्थ्य चौकी भवन निर्माण भई सेवा सञ्चालनमा आएको छ भने वडा नं. ४ देवीनगरमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हालै वडा नं. १ सिलुवा र वडा नं. २ जल्पा स्वास्थ्य चौकी भवनको संयुक्त रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य पूर्वाधारको विकासले सेवा प्रवाहमा ठूलो सुधार ल्याउने बताउँदै अब गाउँ–गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुँदै गएको उल्लेख गरे। प्रदेश सरकार सबै वडामा स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनले बताए।
प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले आधुनिक पूर्वाधारले अब स्थानीयले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत राजु नेपालका अनुसार संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा यी संरचना निर्माण भएका हुन्।
नयाँ भवनहरूमा प्रशासनिक र उपचार सेवा छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ। यहाँ बहिरङ्ग सेवा, गर्भवती जाँच, सुत्केरी कक्ष, ल्याब सेवा, खोप सेवा, औषधि वितरण, परिवार नियोजन, मनोपरामर्श लगायतका सेवाहरू उपलब्ध छन्।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा जग्गादाताहरूलाई सम्मान समेत गरिएको थियो। स्थानीयवासीहरूले आफ्नै गाउँमा सुविधा सम्पन्न स्वास्थ्य सेवा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै अब सहर धाउनुपर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गरेका छन्।
यसैबीच, विरकोटमा निर्माणाधीन १५ शैयाको पालिका अस्पताल सञ्चालनको तयारी भइरहेको छ। गाउँपालिकाले वडा नं. ४ को भवन पनि छिट्टै सम्पन्न गरी सम्पूर्ण पालिकालाई ‘शतप्रतिशत आधुनिक स्वास्थ्य पूर्वाधारयुक्त’ बनाउने लक्ष्य लिएको जनाएको छ।
प्रकाशित : २०८२ चैत २२ गते २०:५९
Facebook Comment