गाउँमै सेवा, उज्यालो भविष्य : पूर्वखोलामा ६० जनाको आँखाको शल्यक्रिया सफल

www.kandaranews.com
प्रकाशित : २०८२ चैत २७ गते १९:०८

पाल्पा — पूर्वखोला गाउँपालिकाका ६० जना नागरिकले गाउँमै नयाँ दृष्टि पाएका छन्। गाउँपालिकाको आयोजना तथा पाल्पा लायन्स लाकोल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क मोतियाविन्दु शल्यक्रियाबाट उनीहरूले पुनः स्पष्ट देख्न थालेका हुन्।
चैत्र ९ देखि १८ गतेसम्म दुई चरणमा वडास्तरमा सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा १,०९३ जनाको जाँच गर्दा ९२ जनामा मोतियाविन्दु पहिचान भएको थियो। तीमध्ये चैत्र २४ र २५ गते रिङनेरह स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया शिविरमा ६० जनाको सफल शल्यक्रिया गरिएको हो।
वर्षौँदेखि धमिलो संसार हेर्दै आएका स्थानीयहरू गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार पाई पुनः उज्यालो देख्न पाउँदा हर्षित भएका छन्। शल्यक्रियापछि पट्टी खोल्नेबित्तिकै स्पष्ट देख्न सक्दा कतिपयले “अब मात्रै स्थानीय सरकारको अनुभूति भयो” भन्दै खुशी व्यक्त गरेका छन्।
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले ग्रामीण भेगका नागरिकलाई अन्धोपनबाट जोगाउन घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने नीति अनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले विपन्न तथा दुर्गम बस्तीका नागरिक अस्पतालसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्ता सेवा विस्तार गरिएको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट र जनशक्तिको प्रभावकारी उपयोग भएको बताउँदै व्यवस्थापन सुदृढ भएकै कारण ठूलो संख्यामा नागरिकले सेवा पाउन सकेको जानकारी दिनुभयो। यस सफलताले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रेरणा मिलेको उहाँको भनाइ छ।
स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उमेरसँगै हुने मोतियाविन्दु नेपालमा अन्धोपनको प्रमुख कारण हो। समयमै शल्यक्रिया गरे पूर्ण रूपमा निको हुने भएकाले शिविरमार्फत उपचार सेवा प्रदान गरिएको उहाँले बताउनुभयो। साथै, शल्यक्रियासँगै चश्मा र आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

फिचर पोस्ट


प्रकाशित : २०८२ चैत २७ गते १९:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology