ढुङ्गालाई पुज्थेँ
रूखलाई पुज्थेँ
जङ्गललाई पुज्थेँ
पहाडलाई पुज्थेँ
पानीको मुहानलाई पुज्थेँ
खोलालाई पुज्थेँ
सिङ्गो प्रकृतिलाई पुज्थेँ ।
मैले पुजेको देखेर
मान्छेहरू मलाई
पागल भन्थे
तिनीहरू मलाई
पागल देख्थे
तेरो देवता कहाँ छ ?
देखा भन्थे
देवता पुजेको थिएन मैले
प्रकृतिलाई पुजिरहन्थेँ
म प्रकृति प्रेमी मान्छे
प्रकृति पुजारी थिएँ ।
जुन चिजलाई
पुजेको थिएँ
संरक्षित बनाएर
जोगाएको थिएँ
म सोंच्दथेँ-
प्रकृतिलाई जोगाउनु पर्छ
र, प्रकृतिले
सजीव वस्तुलाई बचाउँछ
तिनीहरूलाई के थाहा ?
ढुङ्गालाई पुजेर-
घरको जग बलियो हुँदैछ
रुखलाई पुजेर-
अक्सिजन पाएका छौं
वनजङ्गललाई पुजेर-
प्राकृतिक प्रकोप घटेको छ
स्वच्छ मुहान फुटेर-
शुद्ध पानी पिउन पाएका छौं
पहाडलाई पुजेर-
बाढी पहिरो रोकिएको छ
पानीको मुहानलाई पुजेर-
पानी सफा र शुद्ध भएको छ
खोलालाई पुजेर-
जलचर र खेती बचेको छ
प्रकृतिलाई पुजेर-
पारितन्त्र/इकोसिस्टम चलेको छ ।
प्रकृतिको पुकार
सुन्न मानेनन्
प्रकृतिलाई
जोगाउन जानेनन्
पहाड माथि
डोजर/स्क्याभेटर चलाए
खोलानालामा
जहर हाली दिए
वनजङ्गलहरू
फँडानी गर्दै गए
प्रकृति माथि
प्रहार गरिरहे
प्रकृतिलाई अप्ठ्यारोमा पारे
इकोसिस्टममा धक्का पु-याए
अब मानव जगत
अप्ठयारोमा पर्दैछ
धुलो धुवाँले ब्रह्माण्ड
बिषयुक्त प्रदुषणले ढाकिसक्यो
अक्सिजनको अभावले
मान्छेहरू रोगी बन्दैछन्
पानीको मुहानहरू सुकेर
हराउन थालेका छन्
पानीको अभाव खड्किएको छ
जमिनको उर्वरता
हराएर गएको छ
सुख्ख जमिनमा
धाँजा फाट्दै फाट्दै गएर
कुनै समय पाईला टेक्ने ठाउँ
नपाउने दिन आउँन सक्छ
हिजो मलाई पागल भन्नेहरू
धर्तीमा सारा हाहाकार देखेर
अहिले आफैँ पागल भैरहेका छन्
खास को रहेछ पागल ?
———००———-००—————-
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
प्रकाशित : २०७७ भदौ २८ गते १७:२६
Facebook Comment