सुरक्षित आप्रवासन आप्रवासी स्रोत उपकेन्द्रको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष ६ गते १९:२२

रामपुर (पाल्पा), पौष ५ — रमा भण्डारी
‘स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना र सीप लिएर जाऔँ’ भन्ने नाराका साथ रामपुरमा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत उपकेन्द्रको उद्घाटन तथा चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम रामपुर नगरपालिका, पाल्पामा आयोजना गरिएको हो। कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगरप्रमुख रमणबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा रोजगार शाखाका गणेशप्रसाद रेग्मीले कार्यक्रमको उद्देश्य तथा रोजगारीसम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। लुम्बिनी प्रदेश सरकार र हेल्पटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। तथ्यांकअनुसार लुम्बिनी प्रदेश वैदेशिक रोजगारीमा जाने प्रदेशमध्ये दोस्रो स्थानमा पर्दछ भने पाल्पा जिल्ला सातौँ स्थानमा रहेको जानकारी गराइएको थियो। अभिमुखीकरणमा लुम्बिनी प्रदेश आप्रवासन व्यवस्थापन अधिकृत विजय ठाकुर र जिल्ला संयोजक दिनेश घिमिरेले सहजीकरण गर्नुभयो।
जिल्ला संयोजक घिमिरेले रामपुरमा सुरक्षित आप्रवासनसम्बन्धी परामर्श सेवा आवश्यक रहेको उल्लेख गर्दै आप्रवासी स्रोत उपकेन्द्रको उद्घाटन आज एक कार्यक्रमबीच गरिएको जानकारी दिनुभयो। इलाका प्रशासन कार्यालय रामपुरमा स्थापना गरिएको सुरक्षित आप्रवासी स्रोत उपकेन्द्र तथा सहायता कक्षको उद्घाटन नगरप्रमुख रमणबहादुर थापा र पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नगरप्रमुख थापाले वैदेशिक रोजगारीमा जानुअघि सहायता कक्षबाट अनिवार्य रूपमा परामर्श लिन आग्रह गर्नुभयो। सेवा तथा सुविधाबारे जानकारी नहुँदा धेरै श्रमिकहरू अवसरबाट वञ्चित हुने गरेको उदाहरण दिँदै रामपुरबाट वैदेशिक रोजगारीसम्बन्धी सेवामा पहल भइरहेको बताउनुभयो।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले पासपोर्ट बनाउन आउँदा नै सहायता कक्षमा गएर जानकारी लिन नागरिकहरूलाई आग्रह गर्नुभयो। सीपविना वैदेशिक रोजगारीमा जाँदा दुःख पाएको उदाहरण प्रस्तुत गर्दै गाउँ–टोलस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पर्याप्त जानकारी नलिई विदेश जाँदा समस्या भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति, बीमा, सेवा–सुविधालगायत सबै विषय स्पष्ट बुझ्नुपर्ने बताउँदै, आफ्नै गाउँठाउँमा पनि श्रम गरे समान आम्दानी सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँले तानसेनमा कार्यक्रम सफल भइसकेको र अब पाल्पाका सबै स्थानीय तहमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिने जानकारी दिनुभयो।
यूएई एनआरएनका अध्यक्ष भीम मल्ल ठकुरीले सीपविना विदेश जाँदा गैरकानुनी गतिविधिमा फस्ने र समस्या परेपछि समयमै सम्बन्धित निकायमा नपुग्दा झन्झट बढ्ने गरेको बताउनुभयो। श्रम स्वीकृतिका आधारमा बीमा सुविधा पाइने भएकाले सबै प्रक्रिया बुझेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्नुभयो।
अध्यक्षीय मन्तव्यमा प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले भारत हुँदै वैदेशिक रोजगारीमा जाँदा बढी समस्या देखिने र घरेलु काममा जानेहरूले धेरै दुःख पाएको अनुभव साझा गर्नुभयो। गन्तव्य देश र कामबारे पूर्ण जानकारी लिएर मात्र विदेश जानुपर्नेमा उहाँले जोड दिनुभयो।
रामपुर नगरपालिकाको सभाहलमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विभिन्न पालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, नगर सल्लाहकारलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नुभएको थियो।

फिचर पोस्ट 


प्रकाशित : २०८२ पुष ६ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology