पाल्पाली सेवा समाज दोहा–कतारद्वारा शिवशक्ति विद्यालयमा ५१ हजारको अक्षयकोष स्थापना
प्रवीण तिमल्सिना प्रकाशित : २०८२ माघ २१ गते ०:१४
पाल्पा । पाल्पा जिल्लाको रामपुर नगरपालिका–१, खटाङ्गस्थित श्री शिवशक्ति आधारभूत विद्यालयको शैक्षिक उन्नयनका लागि पाल्पाली सेवा समाज दोहा–कतारले उल्लेखनीय सहयोग गरेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेर पनि मातृभूमिको शिक्षा र विकास क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको समाजले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई लक्षित गर्दै रु. ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो।
उक्त सहयोग रकम समाजसेवी तथा पाल्पाली सेवा समाज कतारका पूर्व अध्यक्ष इश्वर काफ्लेको हातबाट विद्यालयलाई हस्तान्तरण गरिएको थियो। काफ्ले सन् २०१७ देखि २०१९ सम्म पाल्पाली सेवा समाज कतारको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो।
कार्यक्रममा काफ्लेले पाल्पाली सेवा समाज दोहा–कतारको स्थापना, उद्देश्य, योजना तथा हालसम्म सम्पन्न गरिएका सामाजिक र शैक्षिक कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो। व्यस्त समयका बाबजुद पनि कार्यक्रममा उपस्थित भई सक्रिय भूमिका निर्वाह गर्नुभएकोप्रति विद्यालय परिवार तथा स्थानीयवासीले आभार व्यक्त गरेका छन्। सहयोगको कदरस्वरूप विद्यालयले पाल्पाली सेवा समाज दोहा–कतारलाई सम्मान–पत्र प्रदान गरेको छ। सम्मान–पत्रमा मिति २०८२ साल माघ १९ गते उल्लेख गरिएको छ भने विद्यालयका प्रधानाध्यापक शिवराज पोखरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु थापाको हस्ताक्षर रहेको छ।
यस अवसरमा पाल्पाली सेवा समाज दोहा–कतारका वर्तमान अध्यक्ष विश्व नाथ भट्टराईले आगामी दिनमा पनि अन्य विद्यालयहरूलाई शैक्षिक तथा भौतिक सहयोग निरन्तर प्रदान गरिने कन्दरा न्युज डट कम लाइ जानकारी दिनु भयो।
विदेशमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको पाल्पाली सेवा समाज दोहा–कतारको यो पहल स्थानीयस्तरमा अत्यन्तै सराहनीय रहेको स्थानीयवासीहरूले बताएका छन्।
Facebook Comment