पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अमृत काम्मु मगर
प्रकाशित : २०७७ पुष २७ गते २३:०३

पुर्वखोला,पाल्पा
पौष २७
पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिकिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका कार्यालयले आज रिङ्नेरहमा आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७६/७७ मा जम्मा ४१ करोड ३४ लाख ६५ हजार बजेट मध्ये २९ करोड ४ लाख ६१ हजार (७०.२५%) खर्च भएको विवरण सार्वजनिक गर्नुभयो । साथै चालू आ.व. २०७७/७८ को अर्धवार्षिक स्रोतगत प्रगति विवरण सुनाउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत पनेरुले जम्मा ४८ करोड ९७ लाख ६५ हजार मध्ये हाल (पौष) सम्म ९ करोड ३४ लाख ३६ हजार (१९%) मात्र खर्च भएको जानकारी दिनुभयो । खर्च विवरण सार्वजनिकीकरण लगत्तै शुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरुले गाउँपालिका मार्फत सञ्चालित विकास आयोजनाहरु, स्वास्थ्यसेवा,शिक्षाक्षेत्र,कृषि,भौतिक पूर्वाधार लगायतका विषयमा प्रश्न,जिज्ञासा र सुझावहरु राखेका थिए । सहभागीहरुको प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिनुहुँदै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले आफुहरु सुशासन मार्फत समृद्ध पालिका बनाउने अभियानमा लागेको बताउनुभयो । अध्यक्ष थापाले अहिलेको ऐन तथा नीति निर्देशिकाहरुले आफुहरुले चाहँदा चाहँदै पनि राजनैतिक दल,समाजका प्रवुद्धवर्गहरु,नागरिक समाज आदिलाई गाउँसभामा सहभागी गराउन नमिल्ने हुँदा पालिकाका गतिविधिहरु सार्वजनिक गर्न,आम नागरिकहरुसंग अन्तरक्रिया गर्नका लागि पनि सार्वजनिक सुनुवाइ जस्ता फोरमहरु उपयोग गरेर अगाडी बढ्ने बताउनुभयो । प्रश्नहरुको जवाफ दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत पनेरुले आफूहरु जनतासंग समन्वय गरेरै अगाडी बढ्ने र पालिका,वडा लगायतका विषयगत कार्यालयहरुबाट गरिने सेवाप्रवाह जनताहरुकै अधिकतम सहजतामा होस भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो-“कार्यालयबाट सेवा लिने क्रममा कर्मचारीहरुबाट कुनै अनियमितता वा अनुचित कुराहरु भएमा लेखेर सुझावपेटिकामा खसाल्ने होइन । कुनै संकोच नमानी मसंग सिधै आउनुहोस् । म सम्बन्धित कर्मचारीलाई के गर्नुपर्ने हो तपाईंहरुकै अगाडी गर्छु ।”
कोभिड-१९ का कारण भन्दै प्रतिनिधीमूलक रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ७० जना भन्दा बढीको सहभागीता रहेको थियोे । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत मन्तव्य रहेको थियो । पत्रकार किरण कौशलले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुका प्रशासनिक तथा कार्यालय व्यवस्थापनसंग सम्बन्धित प्रश्नको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत पनेरू र विकास निर्माण तथा नीतिगत प्रश्नको सम्बन्धमा अध्यक्ष थापाले जवाफ दिनुभएको थियोे ।


प्रकाशित : २०७७ पुष २७ गते २३:०३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology