बैशाख ३ | रमा भण्डारी | रामपुर, पाल्पा
रामपुर अस्पतालको आयोजनामा पाल्पा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सन्दीप रानालाई बधाई तथा सम्मान गर्दै नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
अस्पताल विकास समिति अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य सन्दीप राना सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै उहाँले रामपुर अस्पताल यस क्षेत्रकै गहना अस्पताल भएको उल्लेख गर्दै यसको सर्वाङ्गीण विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको संगमस्थल तथा कालिगण्डकी करिडोरको छेउमा अवस्थित भएकाले अस्पतालमा सेवाग्राहीको चाप उच्च रहेको बताउनुभयो। सीमित स्रोतसाधन र जनशक्ति अभावका बाबजुद नागरिकले सेवा पाइरहेको उल्लेख गर्दै सेवा विस्तार, गुणस्तर सुधार, पूर्वाधार विकास तथा आवश्यक स्रोत व्यवस्थापनमा पहल गर्ने धारणा राख्नुभयो। साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा अगाडि बढाउन मन्त्रालयमा कागजातसमेत पेश गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजु प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेशका १४ अस्पतालमध्ये रामपुर अस्पताललाई प्राथमिकतामा राखिएको बताउँदै यसलाई ट्रमा सेन्टरका रूपमा विकास गरिने जानकारी दिनुभयो।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, अस्पताल विकास समिति अध्यक्ष युवराज खनाल लगायत वक्ताहरूले अस्पतालले सीमित स्रोतबीच पनि सेवा प्रवाह सुधारका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आगामी योजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
अस्पताल विकास समिति सदस्य विष्णु देवी आचार्य घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्टले अस्पतालको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष विष्णुमाया ढकाल लगायतले नववर्षको शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यसैगरी अन्तरक्रियामा पूर्व सञ्चालक समिति अध्यक्ष फणेश्वर गौतम, रामपुर आयुर्वेद अस्पतालका कविराज चेमनप्रकाश पोखरेल, रेडक्रस रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई, समाजसेवी बुद्धिप्रकाश रेग्मी लगायतले सुझावसहित जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रमपछि अतिथिहरूद्वारा अस्पतालका विभिन्न विभागहरूको अवलोकन गरिएको थियो। अवलोकनका क्रममा सेवा प्रवाहको अवस्था, उपलब्ध स्रोतसाधन तथा भावी योजनाका विषयमा सकारात्मक छलफल भएको थियो।
रामपुर अस्पतालको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले गर्नुभएको थियो।

प्रकाशित : २०८३ वैशाख ४ गते १६:१३
Facebook Comment