दोहा, कतार । प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र सामाजिक एकतालाई जीवन्त राख्दै आएको पाल्पाली सेवा समाज दोहा–कतार ले नयाँ वर्ष २०८३ साल को पावन अवसरमा भव्य तथा ऐतिहासिक शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
१७ अप्रिल २०२६ का दिन दोहास्थित गोर्खाली रेस्टुरेन्ट मा सम्पन्न उक्त कार्यक्रम उत्साह, उमंग र आत्मीयताले भरिपूर्ण बनेको थियो। कार्यक्रम समाजका अध्यक्ष श्री विकास गैरे को अध्यक्षता तथा संरक्षक श्री महल केसी को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सोही अवसरमा संस्थाको दोस्रो बैठक समेत बसेर भावी योजना, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे महत्वपूर्ण छलफल गरिएको थियो।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, शुभेच्छुक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ वर्षको अवसरमा सहभागीहरूबीच आत्मीय शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहकार्य, भाइचारा र एकताको सन्देश प्रवाह गरिएको थियो। प्रवासको व्यस्त जीवनशैलीबीच यस्तो जमघटले सबैलाई भावनात्मक रूपमा नजिक बनाएको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको विशेष आकर्षण संस्थालाई निरन्तर माया गर्दै यसको उन्नति, प्रगति र सशक्त यात्राका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउने श्रीमती सम्झना गुरुङ तथा श्रीमती बिनिता गुरुङ लाई गरिएको विशेष सम्मान रह्यो। उहाँहरूलाई प्रशंसा पत्रसहित सम्मान गर्दै समाजले कदर व्यक्त गरेको थियो।
त्यसैगरी संस्थाका संस्थापक सदस्यहरू श्री हेम बगाले, श्री पृथ्वी थापा मगर तथा श्री दल बहादुर बुढाथोकी लाई विशेष सम्मानसहित बधाई ज्ञापन गरिएको थियो। संस्थाको स्थापना, विस्तार र मजबुतीमा उहाँहरूको योगदान अविस्मरणीय रहेको भन्दै उपस्थित सबैले उच्च सम्मान प्रकट गरेका थिए।
कार्यक्रममा सम्मानित संरक्षक श्री लिलाम चिदी मगर को विशेष उपस्थिति रहेको थियो। साथै समाजका सल्लाहकारहरू श्री रमेश कनौजे मगर, श्री ढकेश्वर भण्डारी, श्री जनक थापा मगर, श्री कृष्ण सारु मगर, श्री शेख अब्दुल्ला, श्री सोम श्रेष्ठ, श्री दामोदर पाण्डे, श्री ऋषि न्यौपाने तथा श्री शंकर न्यौपाने लाई बधाई तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष श्रीमती धना कुमारी श्रेष्ठ ले राख्नुभएको थियो। उहाँले समाजले प्रवासमा रहेका पाल्पालीहरूलाई एउटै परिवारका रूपमा जोड्दै सामाजिक अभियानलाई अगाडि बढाइरहेको बताउनुभयो। कार्यक्रम सञ्चालन महासचिव श्री हिरा लाल बस्याल ले अत्यन्त आकर्षक, व्यवस्थित र प्रभावशाली ढंगबाट गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्री विकास गैरे ले समाजलाई अझ सक्रिय, प्रभावकारी र सशक्त बनाउने लक्ष्यसहित प्रत्येक तीन महिनामा व्यक्तित्व विकास केन्द्रित स्टेज कार्यक्रम सञ्चालन गरिने महत्वपूर्ण घोषणा गर्नुभयो। यस्ता कार्यक्रमले सदस्यहरूमा आत्मविश्वास अभिवृद्धि, नेतृत्व क्षमता विकास, सार्वजनिक प्रस्तुतीकरण सीप वृद्धि तथा सामाजिक सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख अतिथि, विशेष अतिथि, विशिष्ट अतिथि तथा सल्लाहकारहरूले पाल्पाली सेवा समाजले सामाजिक एकता, आपसी सद्भाव, प्रतिभा विकास तथा प्रवासी नेपाली समुदायलाई संगठित बनाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, रचनात्मक र प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिनुभएको थियो।
समग्र कार्यक्रम सौहार्दपूर्ण वातावरण, उत्साहजनक सहभागिता र सभ्य व्यवस्थापनका साथ अत्यन्त भव्य, सभ्य र सफल रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सबैमा नयाँ वर्ष २०८३ सालको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरिएको थियो।
प्रकाशित : २०८३ वैशाख ५ गते १२:०८
Facebook Comment