लोप हुँदै पुर्वखोलाका रहहरु,सुक्दै कुलाका बाँधहरु

अमृत काम्मु मगर
प्रकाशित : २०७९ साउन ३० गते १६:४८

पुर्वखोला,पाल्पा
३० श्रावण
आज भन्दा दश/पन्ध्र वर्ष अगाडी पुर्वखोलाका विभिन्न स्थानमा गहिरा रहहरु प्रशस्तै थिए । तर आजभोलि त्यस्ता रहहरु अस्तित्व लोप हुने अवस्थामा पुगिसकेका छन् ।
खोला बग्दै जाँदा खोलाकै कुनै ठाउँमा पानी जम्दा रह बन्छ । कुनै कुलो,पैनी वा नहरमा पानी लैजाँदा बाँध बाँधेको स्थानमा पनि रह बन्ने गरेको छ । खोलाहरुको धार परिवर्तन हुने घुमाउरा ठाउँहरुमा पनि रह बनेको देखिन्छ ।

रिङ्नेरह रहेको स्थानबाट बहाब परिवर्तन भई सरेको खोला

पुर्वखोलाको चर्चित ‘रिङ्नेरह’ अहिले लोप भईसकेको छ । त्यहीँ रहको नामबाट स्थापित रिङ्नेरह’ गाविस हाल पुर्वखोला गाउँपालिका वडा नं.-३ अन्तरगत पर्दछ । आज भन्दा १०/१५ वर्ष अगाडी हालको गाउँ कार्यपालिका भवन भन्दा मुनि ठुली पिपलको छेउमै’ रिङ्नेरह’ थियो । वर्षा याममा मात्रै होइन हिउँदमा समेत भुमरी घुम्ने निकै डरलाग्दो रहलाई स्थानीयहरुले रिङ्नेरह भन्दा भन्दै गा.वि.स.को नाम नै रिङ्नेरह कायम भएको थियोे । हाल सो स्थानमा कुलो बनाईएको छ भने केही भाग चउरमा परिणत भएको छ । खोला त्यो भन्दा १० मिटर वर बाट बग्छ । आजभोलि सो स्थान हेर्ने हो भने त्यस ठाउँमा कुनैबेला रह थियोे भन्ने कुरा कसैले पत्याउने अवस्था छैन ।

पहिले रिङ्नेरह रहेको स्थानमा अहिले चउर बनेको छ ।

त्यस्तै रिङ्नेरहदेखि करिब १ किमि तल ‘पाटेरह’ नामको रह छ । निकै गहिरो र ढुँगाको घाँगर समेत रहेको ‘पाटेरह’ निकै डरलाग्दो छ । तर आजभोलि रह साँगुरो बन्द‌ै गएको छ । व्यवसायीहरुले जथाभावी जेसिबी लगाएर ढुँगा,गिट्टी र बालुवा निकाले पछि ‘पाटेरह’ को अस्तित्व पनि संकटमा परेको छ ।

साँगुरिँदै पाटे रह

त्यस बाहेक ‘लाबेरह’,देवप्रसादको आड,गोरेखोला दोभान रह जस्ता दर्जनौं रह तथा बाँधहरु अस्तित्व बिहिन बनिसकेका छन । कोहि ढुँगा माटोले पुरिएका छन भने कुनै रहहरु खोलाले बाटो परिवर्तन गर्दा लोप भईसकेका छन् ।
समाजको विकासक्रम संगै नदीजन्य पदार्थहरु (ढुँगा,गिट्टी,बालुवा) को अत्याधिक र अव्यवस्थित दोहनका कारण नै खोलानालाहरुको प्राकृतिक बहाब वर्षेनि परिवर्तन भईरहँदा धेरै रह तथा बाँधहरु संकटग्रस्त भएका छन । पुर्वखोला गाउँपालिकाले खोलाबाट ढुँगा/गिट्टी/बालुवा निकाल्ने प्रयोजनका लागि वर्षेनी टेन्डर आह्वान गर्दछ । ठेक्का पाउने व्यवसायीहरुले अव्यवस्थित रुपमा नदीजन्य पदार्थहरु निकालेका कारण खोलाको बहाब परिवर्तन हुने,खोला साबिक भन्दा गहिरिँदै जाने समस्या देखिन थालेका छन् । खोला गहिँरिँदै जाँदा पुर्वखोला फाँट,लाबे फाँट,सातबिसे लगायतका फाँटहरुमा सिंचाइ गर्न बनाईएका बाँधहरु सुक्न थालेका छन् । खोलाहरु जमिनको सतह भन्दा तल गहिरिदैं जाने र खेत खोलाको सतहभन्दा माथि उठेपछि सिंचाइका लागि कुलोमा पानी लगाउन समेत धौ हुन लागेको किसानहरु बताउँछन् ।

पुरिएपछि लाबे रहको अवस्था

पहिले खोला बग्ने स्थान बगरमा परिणत भएपछि पानीका बाँध तथा रहहरु सुकेर अस्तित्व बिहिन बनेका मात्रै छैनन् ,जल पर्यावरण समेत असन्तुलित भईरहेको बुद्धिजीवीहरु माझ चर्चा हुने गर्दछ । त्यस्ता रह तथा बाँधहरुमा हिउँदमा खोला सुक्दा समेत पानी रहिरहने हुँदा जलचरहरुको सुरक्षित बासस्थान हुन् । तर आजभोलि रहहरु लोप हुँदै जाँदा माछा,भ्यागुता लगायतका जलप्राणीहरुको समेत अस्तित्व संकटमा परेको छ । हिउँदमा धारा,कुवा,पँधेरोमा पानी सुक्दा नुहाई-धुवाई गर्नका लागि समेत खोला आसपासका मानिसहरु त्यस्ता रहहरुमा आउने गर्थे तर आजभोलि पानी खोज्दै खोलाभरि धाउनुपर्ने बाध्यता स्थानीय युवाहरुले सुनाए ।
पुर्वखोलाकै नामबाट स्थापित पुर्वखोला गाउँपालिकाले खोला संरक्षणमा ध्यान दिनुपर्ने जनताहरु बताउँछन् । हाल खोलामा नदीजन्य पदार्थहरु लगभग सकिईसकेको अवस्थामा छ । त्यसैले तत्काल उत्खनन कार्य बन्द गरिनुपर्ने आवाज उठेको छ । २/४ वर्ष खोलालाई आफ्नै प्राकृतिक अवस्थामा छोडिदिने हो भने खोलाको पुरानो अवस्थामा केही सुधार अवश्य आउँछ । त्यसपछि फेरि केही समय नदीजन्य पदार्थ उत्खनन् अनुमती दिन सकिन्छ । उत्खननका लागि अनुमति दिँदा नियमित अनुगमन गरि मापदण्डअनुसार भए नभएको परिक्षण हुन सके अव्यवस्थित दोहन रोकिन्छ । यसरी व्यवस्थापन गरियो भने पक्कै पनि पुर्वखोलाको अस्तित्व जोगिन सक्छ कि ।


प्रकाशित : २०७९ साउन ३० गते १६:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology