बैशाख ५, रामपुर (पाल्पा)
नेवा देय दबु रामपुर नगरपालिकाको नगर भेला तथा नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले भाषा संरक्षण र पुस्तान्तरणमा जोड दिँदै अब नयाँ पुस्तालाई भाषा शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष विजुला जोशी, सदस्य अरुणा श्रेष्ठ तथा गण्डकी प्रदेश अध्यक्ष मथुराकृष्ण श्रेष्ठलगायतलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष विजुला जोशीले आफ्नो भाषा, कला र संस्कृतिको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले रामपुर शाखाले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै नगदसहित सम्मान गर्नुभएको थियो।
त्यस्तै, गण्डकी प्रदेश अध्यक्ष मथुराकृष्ण श्रेष्ठले नेवार समुदायको पहिचान कला, संस्कृति र भाषासँग जोडिएको उल्लेख गर्दै आफ्ना मौलिक परम्परा संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेवा देय दबु पाल्पाका जिल्ला उपाध्यक्ष विनोद श्रेष्ठ, रामपुरका सल्लाहकार बाबुराम श्रेष्ठ, क्याक्मी मानन्धर गुठीका अध्यक्ष राजकुमार मानन्धर, नगर कोषाध्यक्ष ओमनारायण श्रेष्ठ तथा रामपुर–७ का अध्यक्ष अर्जुन श्रेष्ठलगायतले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्नुभएको थियो।
नेवा देय दबु रामपुरले आफ्नो धर्म, संस्कार, संस्कृति तथा पहिचान जोगाउन २०८० सालदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। राम्चे सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेखप्रसाद श्रेष्ठले गर्नुभएको थियो।

प्रकाशित : २०८३ वैशाख ५ गते १९:५५
Facebook Comment