अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मंसिर ४ गते संग्राम हुने : पाण्डेय

Kandara News
प्रकाशित : २०७९ कार्तिक ८ गते २१:१४

गठबन्धनका तर्फबाट पाल्पा क्षेत्र नं २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच संघर्ष हुने बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा संघर्ष हुने बताउनुभएको हो ।

तानसेन १० तेल्घा ७ प्रभास र बेसि टोलीका विभिन्न स्थानका घरदैलो कार्यक्रममा
नेता पाण्डेयले संविधानको संरक्षणका साथै संघीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरूको गठबन्धन रहेको बताउनुभयो । पाण्डेयले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मंसिर ४ गते संग्राम हुने धारणा राख्नुभयो ।

पाण्डेयले प्रभासमा निर्मित खानेपानीको व्यवस्थापनले यस क्षेत्रका जनता निकै लाभान्वित हुन पुगेको र नेपाल सरकार र स्थानीय जनताको सहलगानीमा तानसेन ७ र १० का ९ सय ९६ घरधुरीले स्वच्छ खानेपानीको उपयोग गरेको बताउनुभयो । पाण्डेयले आफ्नो सक्रियतामा सम्पन्न यस आयोजनामा नेपाल सरकारले ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशतको सहलगानी गरेको भन्दै आयोजनाका लागि आफू सांसद हुँदा नेपाल सरकारको ११ करोड ९२ लाख रुपैयाँ बजेट निकासा गरेको पाण्डेयले बताउनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं २ (१) का उम्मेद्वार वीर बहादुर रानाले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेस गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो । रानाले नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री एकै ठाउँमा रहेको बताउनुभयो । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न गठबन्धन केन्द्रित रहेको रानाको भनाइ छ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरू गर्नुपर्नेमा साझा धारणा रहेको बताउनुभयो । नेता श्रेष्ठले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गर्नुभयो ।

पाण्डेले सुनडाँडा मोटर बाटो र डुम्रेखोलामा पुल, निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ४१ लाख रकमको पहल गर्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताउनुभयो । तेल्घाका ३ देखि ७ वडासम्मका ५ वटा वडासहित आमडाँडा र सुनडाँडाका वासिन्दाहरु यश योजना बाट लाभान्वित भएका स्थानिय जित बहादुर सिलवालले बताउनुभयो ।

सुनडाँडाको ट्रस र तेल्घाका लागि २०५६ मा स्वीकृत भई हालसम्म चलिरहेको तेल्घा खानेपानीका कारण यस क्षेत्रका जनतालाई सहज भएको सिलवालले बताउनुभयो । पाण्डेले बालकन्या प्रावि तथा मण्डली माविको भौतिक पूर्वाधारका लागि समेत योगदान समाजवादीका जिल्ला सचिव मोहनलाल गैरेले बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक ८ गते २१:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology