पाल्पामा ३ सय युवा एमाले प्रवेश

Kandara News
प्रकाशित : २०७९ कार्तिक १९ गते २१:३१

पाल्पामा ३ सय युवा एमाले प्रवेश
पाल्पा । कात्तिक १९ गते
विभिन्न पार्टी परित्याग गरि ३ सय जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । तानसेनमा शनिवार आयोजित युवा भेला तथा प्रशिक्षण कार्यक्रमका अवसरमा एमाले पार्टी नै देशका लागि आवश्यक रहेको भन्दै आफूहरु एमाले पार्टीमा प्रवेशमा गरेको उनीहरुको भनाई थियो ।
तानसेनका युवा कुमार श्रेष्ठको पहलमा सुरज सुवाल, कुशल श्रेष्ठ लगायतका युवाहरुको नेतृत्वमा ३ सय बढी युवालाई नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर गैरे, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई, ओम बहादुर घर्ती, पार्टी सचिव रामजी पोखरेल लगायतले स्वागत गर्नुभएको कार्यालय सचिव दीपक बिश्वकर्माले बताउनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टी परित्याग गरि युवाहरु एमालेमा प्रवेश गरेका हुन् । सभाहलमा ठाउँ अभाव भएपछि ३/४ समूहमा गरि युवाहरुलाई पार्टी प्रवेश गराइएको थियो ।
कार्यक्रममा नेता गैरेले आगामी मङसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने बताउनुभयो । एमाले पार्टी हार्नु भनेको नेपाल र नेपाली जनता हार्नु हो । राष्ट्र र राष्ट्रियताको हीतमा काम गर्ने एक मात्र पार्टी एमाले भएकोले अत्यधिक मत दिएर बिजयी गराउन उहाँले अपिल गर्नुभयो ।
आफू निर्वाचित भएपछि सिद्धबाबा सडक खडक खण्ड जोखिममुक्त बनाउने, तानसेन लगायत बिभिन्न ठाउँका खानेपानी समस्या समाधान गरि एक घर एक धारा अभियानलाई सफल पार्ने, खानेपानीको बिद्युत महसुल निःशुल्क बनाउने, शैक्षिक इतिहास बोकेको पाल्पामा समयसापेक्ष प्राविधिक र गुणस्तरीय शिक्षाका लागि पहल गर्ने, वर्तमान सरकारले गतिलो गरि कार्यान्वयन गर्न नसक्दा जनता समस्यामा परको छन् यो कार्यक्रमलाई प्रभावकारी रुपमा थप सुविधासहित प्रभावकारी कार्यान्वयन गराउने गैरेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पा एमालेमय बनेको बताउनुभयो । पाल्पाको इतिहासमा २०५१ साल देखि पाल्पाको एमालेको लालकिल्लाको रुपमा रहेको र आगामी निर्वाचनमा पनि पाल्पाका सबै एमाले उम्मेदवारले जित हासिल गर्ने पाल्पा लालकिल्लाकै रुपमा रहने ठोकुवा गर्नुभयो । भयरहित स्वच्छ र स्वतन्त्र ढंगबाट मत खसाल्ने वातावरण मिलाउन उहाँले युवालाई आग्रह गर्नुभयो ।
क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू पद र शक्तिमा नहुँदा पनि यहाँको विकासका निम्ति प्रसस्त काम गरेको र आफू निर्वाचित भएपछि निस्वार्थ भावनाले अझ धेरै काम गर्ने बताउनुभयो । क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्तीले आफू निर्वाचित भएपछि जनताको माग र आवश्यकताको आधारमा विकास निर्माणका गतिबिधिलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार इन्द्राकुमारी गहतराजले उत्पिीडित समुदायको हितको निम्ति काम गर्ने एक मात्र पार्टी एमाले हो भन्नुभयो । एमाले पाल्पाका सचिव युवा नेता रामजी पोखरेलले पाल्पाको विकासको निम्ति एमालेको विकल्प नरहेको बताउनुभयो । सूर्य चिन्हमा मतदान गरि एमालेका उम्मेदवारलाई विजयी गराउन आम पाल्पालीसँग उहाँले अपिल गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक १९ गते २१:३१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology