निर्माण सम्पन्न रामपुर आयुर्वेद अस्पतालको भवन रामपुर नगरपालिकालाई हस्तान्तरण ।

Kandara News
प्रकाशित : २०७९ फागुन ४ गते २१:१५

निर्माण सम्पन्न रामपुर आयुर्वेद अस्पतालको भवन रामपुर नगरपालिकालाई हस्तान्तरण

पाल्पा , रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण विभाग , संघिय आयोजना कार्यालय ईकाइ रुपन्देहीद्धारा विनियोजित बजेटमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न १५ शैया भवनको बुधबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

निर्माण सम्पन्न भवन संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले निर्माण सम्पन्न भई प्राप्त गर्नु मात्रै उपलब्धी नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानिय तहको उपलब्धि हुने बताउनुभयो । उहाँले स्थानिय तहले प्राप्त गरेको आयुर्वेद अस्पताल भवनको सही व्यवस्थापन गर्न सके मात्रै निर्माण गर्नु र प्राप्त गर्नुको उपलब्धि हुने उल्लेख गर्नुभयो । भौतिक रुपमा प्राप्त गरेको अस्पताल भवनबाट यस क्षेत्रका सवै जनताको पहुँचमा पुग्ने गरि सेवा प्रदान गर्न आवश्यक रहेको औल्याउनुभयो । स्थानिय तहले मात्रै यसको व्यवस्थापन र संचालन गर्न नसके तिनै तह मिलेर संचालन गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आयुर्वेद पद्धतीको उपचारमा साईड ईफेक्ट हुँदै भन्ने मान्यता सेवाग्राहीमा रहेकोले यसको सेवालाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएक्को छ ।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आयुर्वेद अस्पतालबाट आयुर्वेदिक र आधुनिक पद्धतिबाट सेवा प्रदान गर्न सके देश कै नमुना आयुर्वेदिक औषधालय बन्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश कै उत्कृष्ट भौतिक संरचना बनेको भन्दै यसको संचालनका लागि स्थानिय तहले मात्रै संचालन गर्ने सम्भावना न्यून रहेको उल्लेख गर्नुभयो । उहाँले संचालनका लागि स्थानिय तह बाहेकका तहबाट कुनै व्यवस्था भए मात्र संचालन सम्भव रहेको बताउनुभयो । संघीय आयोजना कार्यालय ईकाई रुपन्देहीका प्रमुख विदुर खड्काले आयुर्वेद पद्धतिको उपचार सेवालाई प्रसय दिनु पर्छ भन्ने उद्देश्यले रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण गरेको बताउँदै भवनको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । भवन हरेक हिसाबले सुविधा सम्पन्न रहेको भन्दै उहाँले यहाँबाट प्रवाह हुने सेवा गुणस्तरिय हुन आवश्यक रहेको बताउनुभयो ।

रामपुर आयुर्वेद अस्पतालको आवश्यकता र बस्तुस्थिती बारे जानकारी गराँउदै रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले तिनै तहको सरकार विच समन्वय गरेर यसको संचालन र व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । आयुर्वेद उपचार पद्धति प्रति मानिसको जनविश्वास बढि रहेको र यसको प्रभावकारीता पनि बढि भएकोले यसको संचालनमा निरन्तरता दिई गुणस्तरिय सेवाका लागि पहल गर्न आवश्यक रहेको बताउनु भएको छ । पछिल्लो समय यस क्षेत्रका सेवाग्राहीको संख्यामा बृद्धि भई रहेको भन्दै पञ्चकर्म सहितको हरेक सेवा प्रदान गर्न सके सेवाग्राहीको संख्यामा अझै बृद्धि हुने उहाँले बताउनुभयो ।

नवनिर्मित भवन ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भौतिक संरचना प्राप्त गर्नु गौरवको कुरा भएको भन्दै यस संगै चुनौति थपिएको बताउनुभयो । सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन ,संरक्षण र संचालनमा चुनौती रहेको उल्लेख गर्नुभयो । यसका लागि सवै सरोकारवाला विच छलफल र समन्वयको आवश्यकता औँल्यायउनुभयो । नगरपालिका भित्र प्रसस्त आम्दानीको आन्तरिक स्रोतको अभावले संचालन गर्न नसकिने अवस्थामा रहको स्पष्ट पार्नुभयो । यसका लागि प्रक्रिया अनुसार १५ शैया बाट २५ शैयामा स्तर बृद्धि गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने एउटा विकल्प समेत प्रस्तुत गर्नुभयो । संघीय र प्रदेश सरकारबाट आवश्यक कर्मचारीको दरबन्दि र बजेट उपलब्ध गराए मात्र केही बजेट नगरपालिकाले विनियोजन गरेर संचालन गर्न सकिने नगर प्रमुख थापाले बताउनुभयो । सुविधा सम्पन्न भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेकोमा संघीय आयोजना कार्यालय ईकाई रुपन्देही र निर्माण कम्पनीलाई धन्यवाद दिंदै आयुर्वेद अस्ताल संचालन र व्यवस्थापनका लागि नगरपालिका सधैं समन्वय गरेर अगाडी बढ्दे प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भवनको शिवशक्ती कन्स्ट्रक्सन कम्पनी प्रालीले ११ करोड ३३ लाख ४९ हजार ९३ रुपैयाँ ७६ पैसा बराबरको बजेटमा निर्माण सम्पन्न गरेको हो । कम्पनीले करिब ३ बर्षको समयावधीमा किचन , ट्वाइलेट , योगा हल , अपरेशन कक्ष ,एक्सरे कक्ष , मिटिङ हल , ल्याब कक्ष , लगाएतका कक्ष गरि ६८ कोठा रहेको ३ तले भवन निर्माण सम्पन्न गरेको साईड ईन्जिनियर सुन्दर बस्यालले जानकारी दिनुभयो ।

विं.सं. २०१७ सालमा तत्काल राजा विरेन्द्रले रामपुर आयुर्वेद औषधालयको रुपमा स्थापना भएको औषधालय २०२९ सालमा लुम्बिनी अञ्चल औषधालयको रुपमा संचालनमा आएको थियो । २०४३ सालबाट राज्यको निति अनुसार फेरी रामपुर आयुर्वेद औषधालयको रुपमा संचालनमा रहेका थियो ।


प्रकाशित : २०७९ फागुन ४ गते २१:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology