निस्दीमा कृषि पर्यटन सांस्कृतिक तथा खेलकुद महोत्सव हुने

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० चैत ६ गते ९:४२

प्रेमबहादुर बाकाबल निस्दी
२०८० चैत्र ५, निस्दी गाउँ पालिकाको संरक्षण र निस्दी खेलकुद विकास समितिको आयोजनामा दोस्रो निस्दी कृषि पर्यटन सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ।
चैत्र ४ गते पत्रकार सम्मेलन गरि उक्त महोत्सव हुने मुल समारोह समिती संयोजक उमेश कुमार गाहाले जानकारी गराउनुभयो।
संयोजक गाहाका अनुसार निस्दीमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने , कृषि उपज वस्तुहरुको उत्पादन र प्रबर्द्धनमा जोड दिने, खेलको माध्यमबाट व्यक्ति र पालिकालाई परिचित गराउने,स्थानीय मौलिक संस्कृतीको जगेर्ना गर्ने, मगरी खानाको प्रबर्द्धन गर्ने जस्ता उदेश्यका साथ महोत्सव गर्न लागिएको हो।
उप संयोजक प्रदीप ज्ञवालीले महोत्सवमा अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल, प्रथम निस्दी डान्स आइडल, स्थानीय झाकी प्रदर्शन , ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति , बाल उद्यान, र पचास भन्दा बढी स्टल रहने बताउनुभयो ।
२०८० चैत्र २६ देखि २०८१ वैशाख ३ गतेसम्म चल्ने दोस्रो निस्दी महोत्सवमा करिब चालीस लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले पालिकाले गर्नुपर्ने काम खेलकुद विकास समितिले गर्न लागेको प्रति खुशी व्यक्त गर्नुहुदै युवाहरूको साथ र सहयोग विना पालिका अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले निस्दीको चौतर्फी विकास र प्रबर्द्धन गर्न यो महोत्सवले सहयोग पुर्याउने भएकोले महोत्सव सफल पार्न पालिकाको तर्फबाट जस्तो सुकै सहयोग गर्न तत्पर रहने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखा सदस्य दुर्गेस मल्लले निस्दी पर्यटन , कृषि र संस्कृतिको दृष्टिकोणले पहिलो पालिका रहेको र महोत्सवले त्यसता विषयलाई प्राथमिकता दिन सके निस्दीको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
महोत्सव सफल पार्न एक सय एक सदस्यीय मुल समारोह समिती र नौ वटा उप समिति निर्माण गरि तिव्र गतिमा तयारी भइरहेको सचीव पुनाराम सुनारीले जानकारी गराउनुभयो।
महोत्सव निस्दी गाउँ पालिकाको खेलमैदान मित्याल झ्यालटुङ्गमा हुनेछ।


प्रकाशित : २०८० चैत ६ गते ९:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology