लोक सुसेली युवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाले गरे रक्तदान

www.kandaranews.com
प्रकाशित : २०८२ चैत ३० गते २०:१६

चैत्र ३० | पाल्पा
पाल्पाको रम्भा गाउँपालिका–१, च्याङलिङ्गमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लोक सुसेली युवा समाजले आफ्नो २०औँ वार्षिक उत्सवको अवसरमा गैरी खेल मैदानमा उक्त कार्यक्रम आयोजना गरेको हो।
रम्भा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तानसेन, पाल्पाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १७ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक यम बहादुर सिंजालीले जानकारी दिनुभयो।
कार्यक्रम लोक सुसेली युवा समाजका अध्यक्ष रञ्जित सेन ठकुरीको अध्यक्षतामा तथा रम्भा गाउँपालिका–१ का वडा अध्यक्ष ईश्वरी काफ्ले प्रमुख अतिथिको रूपमा सम्पन्न भएको हो। प्रमुख अतिथि काफ्लेले “रक्तदान जीवनदान” भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले क्लबले गर्दै आएको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभयो।
क्लबका अध्यक्ष रञ्जित सेन ठकुरीले रगतको अभाव हुन नदिन वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका प्रमुख विनोद भारतीले संकलित रगत रक्तसञ्चार केन्द्रमार्फत आवश्यक बिरामीहरूलाई उपलब्ध गराइने जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन दिनेश भट्टराईले गर्नुभएको थियो।
यसैबीच, क्लबले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमसँगै साविक वडा स्तरीय भलिबल प्रतियोगिता तथा च्याङलिङ्ग डान्स आइडल प्रतियोगिता समेत सञ्चालन गरेको छ। प्रतियोगिताको समापन मंगलबार गरिने आयोजकले जनाएको छ।


प्रकाशित : २०८२ चैत ३० गते २०:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology