लाहुरेनी भाउजू लेख

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ २४ गते २०:४५

लेखक ः मिजास मगर
करिब ६ महिना पछि म घर जाँदै छु । नयाँ बसपार्क गएर गाडी खोज्न सुरु गरे तर सबै गाडी प्याक देखे । दशैको माहोलमा गाडी पाउन निकै हम्मे हुन्छ । हिजो मात्रै चौथो सेमेस्टरको परिक्षा सकिएको मेरो टिकट काट्ने फुर्सद भएन । बल्ल तल्ल एउटा गाडिले लगिदिने भयो बटौली सम्म । बटौली देखि त पाल्पा जाने गाडी जति नि पाइन्छ भन्ने थाहा थियो ।

काठमाडौं बस्न थालेको पनि २ वर्ष बितेछ । तर मलाई होमसिक्नेसले छोडेको थिएन । घरको कान्छो छोरो भएर पनि होला सायद । यतिकैमा मेरो सित छेउमा एउटी सुन्दर केटी आएर सोधी “यहाँ बस्न मिल्छ?” मैले हुन्छ भनिदिए । उनी आफ्नो सामान मिलाएर त्यहा बसिन । एक्कासी मोबाइल भाइब्रेट भएको महसुस भयो । हतारहतार मोबाइल झिकेर स्क्रीन हेरे फोन उसैको रहेछ । फोन उठाउना साथ उसले कहाँ आइपुगेउ भनिहाली अनि मैले भर्खर गाडी चढेको भने । अलि नम्र थियो उसको बोलि । आएर कल गर है भनेर उसले फोन राखी ।

उनी अर्थात मेरी प्रेमिका । मेरो मान्छे । सायद १० कक्षामा पढ्दा वक्तृत्वकला प्रतियोगितामा भेट भएको थियो हाम्रो अनि त्यो प्रतियोगितामा म प्रथम र उनी दोस्रो भएकी थिईन । स्पष्ट वक्ता अनि भर्साटाइल थिईन उनी । लभ परेको करिब ४ वर्ष भएको छ हाम्रो तर हाम्रो सम्बन्धको बारेमा कसैलाई नि थाहा छैन । संयोग त के भने उसको बुवा र मेरो बुवा एउटै पल्टनको साथी । उनी अहिले बि.एस.सी दोस्रो वर्षको विद्यार्थी अनि म सिभिल इन्जिनियरिङ्ग चौथो सेमेस्टरको विद्यार्थी । हाम्रो लभस्टोरी यति सस्पेन्सको छ कि हामी भेट्दा सानो सानो क्लुहरु पनि ख्याल गर्छौ कसैले शंका नहोस भनेर ।

आफ्नै देशमा केही गर्नपर्छ भन्ने मान्यता राख्छिन उनी । लाहुरेको छोराछोरी लाहुरे लाहुरेनी बन्न हुन्न नेपालमै जागिर खान पर्छ भन्थिन उनी । पढाइ सङ्गै उसले शिक्षण पेशा पनि अङ्गालेकी छिन । बुवा भने साह्रै कडा हुनुहुन्छ उसको ।

यतिकैमा साइडमा बस्ने केटीले कहाँ सम्म पुग्नुहुने भनेर सोधी मैले पाल्पा भने अनि तपाईं नि?? उसले बुटवल भनी । गाडी पनि आफ्नो रफ्तारमा हिडिसकेको थियो । हामीले परिचय गर्यौ । शारदा राना मगर रहेछ उसको नाउ । नेपाल ल क्याम्पसमा एल.एल.बी गर्दै रहेछिन ।

झट्ट फेसबुक नखोलेको पनि २ हप्ता भएको भन्ने सम्झिए । मोबाइल खोलेर एनसेलको डाटा प्याक लिगे । डाटा अन गर्ना साथ म्यासेज र नोटिफिकेसनको वर्षात सुरु भयो । मेसेन्जर खोले थुप्रो मेसेज रहेछ । सबैको मेसेज हेर्दै गए । दाइको पनि मेसेज आएको रहेछ । दाइ अर्थात मेरो ठुलोबुवाको छोरा जो भारतिय सेनामा कार्यरत हुनुहुन्छ । मेसेज हेरेर थाहा भयो कि दाइ पनि आजै आइपुग्ने हैछ भन्ने । मैले दाइलाई मेसेज गरे दाइ कहाँ हुनुहुन्छ म काठमाडौंबाट हिडे मलाई बुटवलमा पर्खनुस है सङ्गै जाउला । संयोगले दाइ अनलाइन हुनुहुदोरहेछ । मेसेज रिप्लाई गर्नुभयो हुन्छ भाइ म नेपाल छिरेसी तिमीलाई कल गर्छु म अहिले गोरखपुर छु ।

बसमा नेपाली लोक गीत बज्दै थियो । अनि आफ्नै रफ्तारमा गुडिरहेको थियो । शारदा निदाइरहेकी थिइ । म भने उसको बारेमा सोच्दै थिए । उसलाई भेट्न आतुर थिए ।
उसको यादमा सफर गर्दै छु । गाडी बुटवल पुगेको पत्तै पाएन । शारदा चौराहमा ओर्ली । जाने बेलामा बाई सम्म भन्न भ्याई । बसपार्क पुग्नासाथ दाइको फोन आयो अनि आफू गोलपार्क भएको जानकारी दिनुभयो । म रिक्सा समातेर गोलपार्क पुगे । दाइ भेटिनुभयो । दाइ सङ्ग अंगालिए म । लामो समयपछी भेट्दै थिए दाईलाई । दाइले ट्याक्सी बुक गर्नुभएको रहेछ । हामी पाल्पा हिडेउ । दाईले भन्नुभयो तलाई आज एउटा गिफ्ट दिन्छु भनेर अनि म पनि फुरुङ्गै भए । सरप्राइज गिफ्ट हो भनेर भन्दै हुनुहुन्थ्यो ।

जोरधारा पुगेर खाजा खायौ अनि फेरि लाग्यौ । तानसेन पुगेपछी कुन बाटो जाने भन्ने सल्लाह भयो दाइले नारायणस्थान मन्दिरमा छोड्ड्नुस भन्नुभयो । नारायणस्थान मन्दिरमा ओर्लिने बितिकै अनौठो दृश्य देखे । घरको सबै परिवार त्यही हुनुहुदो रहेछ । हामी दाजुभाई ओर्लिएर सबैलाई ढोग गरेउ । अनि दाइले भन्नुभयो यहि हो सरप्राइज भाइ आज मैले बिहे गर्दै छु । मन अत्ति रमायो । झोलाहरु सबै चिनेको दाइको पसलमा राखेर हामी सबै मन्दिरतिर गयौ । दुलही पत्तिका पनि थुप्रो मान्छेहरु आएका रहेछन ।

बुवालाई सोधे भाउजु कहाको हो भनेर बुवाले भन्नू भयो मेरै नम्बरीको छोरी मिमिक । मिमिक सुन्नासाथ म छाङ्गा बाट खसे झै भए । मिमिक मेरी मान्छे । मनले अनेक सोच्यो तर के गर्नु गर्न पनि त केही सक्थेन मैले । यतिकैमा पण्डित बाजेले वर र वधुलाई बोलाए । दाई मक्ख परेर अगाडि जानुभयो मिमिक भने बिस्तारै आउदै थिईन । सायद उ विवस थिई । मैले उसको अनुहारमा प्रष्ट पीडा देखिरहेको थिए । म बाध्य भएर हेरिरहेको थिए । आफ्नै संसार अरुले खोसेको म हेरिरहेको थिए । सबै खुसी देखिन्थे । कसैले भन्दै थिए भाग्यमानी रहेछ ता मिमिक लाहुरेसङ्ग बिहे गर्न पायो । पण्डित बाजेले मन्त्र पढ्दै थिए । मन्त्र पनि सराप जस्तो लागिरहेको थियो । सिन्दुर हाल्ने बेलामा सेतो कपडा चाहिदो रहेछ त्यो भने ल्याउन बिर्सिएको हैछ । ठुलोबुवाले मलाई जा लिएर आइज भन्नुभयो । म हतार हतार कुदे । सायद संसारको सबैभन्दा अभागी प्रेमी मै होला जसले आफ्नो प्राण भन्दा प्यारी प्रेमिकाको अरु सङ्गै बिहे भएको हेर्दै छ र सिन्दुर अर्कैकोलागि किन्न जाँदै छ । बनावटी मुस्कान साथ फेता किनेर ल्याए । बिहेको कार्य सकियो । मिमिक र दाइ सबैलाई ढोग गर्दै हुनुहुन्थ्यो । म बुवाको छेउमा उभिएको थिए । बुवालाई ढोग गरिसकेपछि दाइले भन्नुभयो तिमी त सानो हो केरे हामीलाई ढोग!! म ढोग्न बाध्य भए ।

दाइको सरप्राइज गिफ्टले कहिले पनि सन्चो नहुने चोट दियो । कति सपना थिए मिमिक सङ्ग त्यो सबै भताभुङ्ग भयो । आफ्नै आधा मुटुलाई अर्कैको भएको हेर्दा साह्रै मन दुख्ने रहेछ । पछि थाहा भयो बिहेको सबै योजना पहिला नै तय भएको रहेछ । मिमिकले मलाई नभनेको रहेछिन । जसोतसो मन सम्हालेर भाउजू भन्दै उनी अगाडि गए । उनी पनि मुसुक्क मुस्काइन । सायद उसको मुस्कान बनावटी थियो ।
पाउनुमात्रै माया होइन गुमाउनु पनि माया हो भन्ने थाहा भयो । अब उनी मेरी मिमिक होइनन मेरो लाहुरे भाउजू बनिसकेकी थिइन । बस जिन्दगीमा सिकेको कुरा सस्पेन्स वाला लभ गर्न नहुदो रहेछ । आफ्नै दाजुभाई सौता बनिदिदा केही गर्न नसकिदो रहेछ ।
संलग्न क्षेत्र


प्रकाशित : २०७७ भदौ २४ गते २०:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology