रामपुर साना शहरी खानेपानीको ब्लक नं. ३ को वार्षिक साधारणसभा सम्पन्न
रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८३ वैशाख २९ गते ११:३५
रामपुर, पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ब्लक नं. ३ को ब्लकस्तरीय वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर विकास कोषका प्रमुख सुवासराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै उहाँले देशभरका १२६ वटा योजना हेरेको अनुभव सुनाउँदै रामपुर साना शहरी खानेपानी योजना प्रशंसायोग्य रहेको बताउनुभयो । उपभोक्तालाई शुद्ध तथा स्वच्छ खानेपानी उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले “पैसाभन्दा पनि उपभोक्ताले गुणस्तरीय पानी खोजिरहेका छन्” भन्नुभयो ।
रामपुर नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाणले खानेपानीको गुणस्तर परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले पानीमा खनिज तथा आयोडिनको मात्रा परीक्षण गरी उपभोक्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र ऋण व्यवस्थापनमा समेत सहकार्य भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत मन्तव्य राख्दै उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष कमलराज भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभयो । कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ रुपैयाँ रहेको जानकारी दिनुभयो । साथै १ करोड ८९ लाख रुपैयाँ बराबरको काम भइरहेको पनि उहाँले बताउनुभयो ।
साधारणसभामा नेकपा नगर अध्यक्ष फणेश्वर गौतम, उपभोक्ता लक्ष्मण सुनाम, खिलादेवी भण्डारी लगायतले आफ्ना धारणा राख्नुभएको थियो । लेखा समिति सदस्य कमल आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेलले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सञ्चालक समिति सदस्य राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रम रामपुरस्थित रेशम सभाहलमा सम्पन्न भएको थियो ।
Facebook Comment