रामपुर नगरपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त घोषणा
रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८३ वैशाख ३१ गते १३:०५
बैसाख ३० । रमा भण्डारी, रामपुर पाल्पा
रामपुर नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको तथा सुत्केरी भएका सबै महिलाले स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएको सुनिश्चित भएसँगै बुधबार नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित तथा स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका भएको प्रमाणपत्र प्रदान गर्दै घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र दिगो विकासको सूचक पूरा नहुने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य र औसत आयु विकासको महत्वपूर्ण आधार भएकाले पूर्ण मात्रामा खोप सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले स्वास्थ्य र शिक्षामा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार भएको बताउनुभयो । उहाँले पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नगरपालिका निरन्तर लागिरहने बताउनुभयो ।
उपप्रमुख बालकुमारी थापाले स्वस्थ आमा र स्वस्थ बालबालिकाका लागि खोप तथा संस्थागत प्रसुतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नगर प्रवक्ता एवं रामपुर नगरपालिका–१ का वडा अध्यक्ष कपिल बहादुर खाँण तथा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पाल्पा जिल्ला विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपानेले प्रत्येक वर्ष जन्मदर घट्दै जानु दुःखद् विषय भएको भन्दै यसतर्फ सबै सरोकारवालाको ध्यान जान आवश्यक रहेको बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेसु डा. स्मृति गौतम तथा गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले शिशु मृत्युदर न्यूनीकरणका लागि नेपालमा १४ प्रकारका खोप लगाइँदै आएको जानकारी दिँदै खोप अभियानमा सक्रिय स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका ५ सय ५१ तथा १६ महिनादेखि ५९ महिनासम्मका १ हजार ७ सय ९२ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालले गत आर्थिक वर्षमा नगरपालिकामा सुत्केरी भएका ५ सय २२ जना महिलामध्ये शतप्रतिशतले स्वास्थ्य संस्थाबाट प्रसुति सेवा लिएको जानकारी दिनुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ नर्सिङ अधिकृत पुनम धितालको स्वागत तथा जनस्वास्थ्य अधिकृत पुनम जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा नगरभित्रका १० वटै वडालाई पूर्णखोप एवं पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चितता घोषणा गरिएको थियो ।
Facebook Comment