रामपुर साना शहरी खानेपानी संस्थाको ब्लक स्तरीय साधारणसभा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८३ जेठ १ गते २०:५८

जेठ १, रामपुर पाल्पा ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था रामपुर पाल्पाले ब्लक नम्बर १ को ब्लक स्तरीय सभा तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दिप राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रानाले पानसमा बत्ती बालेर तथा गमलामा पानी राखेर गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले मानव जीवनका लागि पानी अपरिहार्य रहेको बताउँदै स्वच्छ खानेपानीको पहुँचलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका केही क्षेत्रलाई समेटेर “कालीगण्डकी उपत्यका तथा वैदिक सिटी” अवधारणालाई अगाडि बढाइएको जानकारी दिँदै कालीगण्डकी सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि संसदमा समेत आवाज उठाएको बताउनुभयो।
उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सेवा राज्यले निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै खानेपानीमा लाग्ने कर व्यवस्थाको सुधारका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै यस क्षेत्रको समग्र विकासमा आफू निरन्तर लागिरहने बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु श्रेष्ठ ले शुद्ध पानी मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। “यदि शुद्ध पानी पिउने बानी बसालियो भने ८० प्रतिशत रोगबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो। खानेपानी संस्थाहरूले भोगिरहेका ऋण र करसम्बन्धी समस्याका विषयमा सम्बन्धित निकायसँग छलफल गरेको जानकारी दिँदै प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यक्ष हरिप्रसाद गैह्रे, संस्थाका पूर्व उपाध्यक्ष हुजिलदिन मियाँ तथा ब्लक नम्बर १ का संयोजक कृष्णप्रसाद अर्याललगायतले खानेपानीको महत्वबारे चर्चा गर्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष कमलराज भट्टराईले संस्थाको वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो। संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ रुपैयाँ रहेको जानकारी दिनुभयो। साथै करिब १ करोड ८९ लाख रुपैयाँ बराबरका योजनाहरू कार्यान्वयन भइरहेको पनि बताउनुभयो।
लेखा समिति सदस्य मञ्जु भट्ट क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उपभोक्ता गीता घिमिरे र बुद्धि पंगेनीले विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो।
कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरूलाई सम्मानपत्र, दोसल्ला, फूलमाला तथा अबिरसहित सम्मान गरिएको थियो। संस्थाकी सञ्चालक समिति सदस्य सरस्वती डोटेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेलले गर्नुभएको थियो। कार्यक्रम दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

फिचर पोस्ट

 


प्रकाशित : २०८३ जेठ १ गते २०:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology