रामपुर साना शहरी खानेपानी संस्थाको ब्लक नम्बर ५ को साधारणसभा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८३ वैशाख ३१ गते १३:०२

बैसाख ३०, रमा भण्डारी, रामपुर पाल्पा।
रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ले ब्लक स्तरीय ब्लक नम्बर ५ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजु प्रसाद श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खानेपानी योजनामार्फत रामपुर, खालिवन र दर्छा गरी तीन वटा गाविसलाई समेट्ने प्रयास गरिएको भए पनि खालिवनलाई अझै समेट्न नसकिएको बताउनुभयो। उहाँले शुद्ध खानेपानीका कारण सरुवा रोगको जोखिम कम भएको उल्लेख गर्दै हाल वितरण भइरहेको पानी परीक्षणपछि पिउन योग्य रहेको जानकारी दिनुभयो।
उहाँले हाल ५७ करोड रुपैयाँ बराबरको योजना सञ्चालनमा रहेको र अब सडक क्षेत्रमा रहेका पाइपलाई व्यवस्थित गर्ने काम अगाडि बढाइने बताउनुभयो। खानेपानी संस्थाले करोडौँको कारोबार गर्दा २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने विषयमा आफू प्रतिबद्ध भएर लाग्ने पनि उहाँले उल्लेख गर्नुभयो।
प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै उहाँले कहीँ कतै पाइपमा समस्या आए कार्यालयबाटै निगरानी गर्न सकिने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो। “पानी मानव जीवनका लागि अत्यन्त अपरिहार्य वस्तु हो, शुद्ध पानी पिउने हो भने ८० प्रतिशत रोग लाग्दैन,” उहाँले भन्नुभयो।
कार्यक्रममा दोवराज तिवारी ले उपभोक्ताले आफूले प्रयोग गरिरहेको पानीको गुणस्तरबारे जानकारी पाउनुपर्ने बताउँदै वडाबाट आवश्यक सहयोग जारी रहने बताउनुभयो। उहाँले विपन्न परिवारलाई अनुदानमा धारा जडान गरिदिएको जानकारी पनि दिनुभयो।
संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष कमलराज भट्टराईले संस्थाको वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो। कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको आय ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ रुपैयाँ रहेको जानकारी दिनुभयो। साथै एक करोड ८९ लाख रुपैयाँ बराबरको काम भइरहेको पनि उहाँले बताउनुभयो।
लेखा समिति सदस्य कमल आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ७ का सचिव तिलबहादुर श्रेष्ठ, सहिद बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष रामप्रसाद ढकाल, उपभोक्ता देवेन्द्र पोखरेल, आधारभूत मावि डुम्रीगाउँका प्रधानाध्यापक रुपनाथ गौतम, पत्रकार रमा भण्डारी तथा किसावारी बट्टार खानेपानीका अध्यक्ष मित्रलाल गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


सञ्चालक समिति सदस्य टेकबहादुर विकले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेलले गर्नुभएको थियो। कार्यक्रम आधारभूत माविको सभाहलमा सम्पन्न भएको थियो।


प्रकाशित : २०८३ वैशाख ३१ गते १३:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology