स्वच्छ मनको
खुल्ला हृदय
निस्वार्थ स्वभाव
उदार, दिलदार
एक प्रतिबिम्ब थिए ।
गाईले दूध दिए झैँ
धेरैलाई रक्तदान गरेर जीवन दिए
रुखले फल दिए झैँ
मिर्गौला दान गरेर आयु लम्ब्याई दिए
दृष्टि विहीनलाई
नेत्रदान गरेर उज्यालो संसार देखाए
दाँत झरेर खाना चपाउन नसक्के वृद्धालाई
दाँत उखेलेर दिए-भुटेको मकै चपाउने बनाए
हात र खुट्टा गुमाएकालाई
एक एक हात र खुट्टा दान गर्न चाहन्थे
तर समाजले अनुमति दिएन
मिल्ने भए, कसैले चाहे
सिङ्गो जिन्दगी दान गर्न चाहन्थे
कसैलाई फोक्सो चाहिएको थियो
यदि दुईटा फोक्सो हुन्थे भने दिन्थे
कसैलाई मुटु चाहिएको थियो
मुटु नलिएरै बाँच्थे भने त्यो पनि दिन्थे
मुटु र फोक्सो दान गरेर
कसैलाई बचाउन नसकेकोमा
आफैँ मरितुल्य हुँदै मर्महत भए
जिउनुको पश्चतापमा तड्पिए
जे जे दिन मिल्ने थिए- एक एक दिँदै गए
तत्काल दिन नमिल्ने- मृत्यु पश्चात् दान गर्ने
सम्झौतामा हस्ताक्षर गरेर आग्रीम दान गरे
मन दिए, वचन दिए- प्रिय पात्र बने
स्वैच्छाले दान गरे- दानवीर कहालिए
बिडम्बना !
कोरोना संक्रमणले थलिएर
उसको इहलीला अन्त्य भयो
अफसोच !
लास उठाउने बेला
न समाजका कुनै देखिए
न घाट सम्म मलामीका लस्कार !
आफुले जिन्दगी भरि दान गरिरहे
तर कसैले समय सम्म दान गरेनन्
हरियो बाँस समाएर घाट लैजान
चार जना सिपाहीहरूमा सिमीत रह्यो
जिन्दगी समयको खेल न रहेछ
समय भन्दा ठुलो के हुन सक्छ र !
—————००———————-
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
प्रकाशित : २०७७ भदौ २७ गते ८:३५
Facebook Comment