लुम्बिनी प्रादेशिक अस्पतालले २ हजारमा स्वाब परिक्षण गर्ने

कन्दरा सम्वादाता
प्रकाशित : २०७७ भदौ २९ गते ०:०४

बुटवल भदौ २८/ बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले कोरोनाको पिसिआर परिक्षणको शुल्क घटाएको छ । नेपाल सरकारले यसअघि तोके अनुसार ४ हजार ५ सय रुपैया लिंदै आएको अस्पतालले सोमबारदेखि लागु हुने गरि शुल्क घटाएको हो ।
सोमबारदेखि शुल्क परिमार्जन गरि २ हजार ५ सय रुपैयामा पिसिआर परिक्षण गर्ने निर्णय गरेको अस्पताल बिकास समितीले सरकारको पछिल्लो निर्णय बमोजिम २ हजार रुपैया लिने छ ।
यस्तै सरकारले सरकारी अस्पतालहरुलाई पनि ५० प्रतिशत पिसिआर परिक्षणको शुल्क लिन पाउने अनुमती दिएको छ । दैनिक ४ सय जनाको पिसिआर परिक्षण गर्ने क्षमता रहेको अस्पतालमा २ सय जनाको शुल्क लिएर परिक्षण गर्न सकिने छ ।
अस्पतालले निशुल्क र शुल्क लिएर गर्ने पिसिआरबारे मापदण्ड समेत बनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले ज्वरो आउने, स्वासप्रस्वास तथा खोकीको समस्या लिएर अस्पतालको ज्वरो क्लिनिकमा आएका विरामीको निशुल्क पिसिआर परिक्षण गरिने जानकारी दिए ।
अस्पतालका चिकित्सकको सिफारिसमा दिर्घरोगी, आईसियूमा उपचाररत तथा ६० वर्ष माथीको विरामीको पनि निशुल्क पिसिआर परिक्षण गरिने छ ।
त्यस्तै कोरोना संक्रमण पुष्टि भई आईसोलेसनको आईसियूमा भर्ना भएका र संक्रमण मुक्त भएनभएको पुष्टि गर्न पनि पिसिआर परिक्षण निशुल्क गरिने छ भने आईसोलेसनमा बसेपनि लक्षण नदेखिएकाहरुको भने पिसिआर परिक्षण गर्न चाहे शुल्क लिएर परिक्षण गरिने डा. खनालले जानकारी दिए ।
अस्पतालमा अप्रेसन गर्ने अवस्थाका आर्थिक अवस्था कमजोर भएका विरामी र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पनि निशुल्क परिक्षण गरिने छ ।
पछिल्लो समय स्थानीय तहहरुले समेत आफुखुसी पिसिआर परिक्षण निशुल्क गर्ने घोषणा गर्न थालेको र वडा तहबाट समेत परिक्षणका लागि सिफारिस हुन थालेपछि लोड बढ्दै गएकोले मापदण्ड बनाईएको डा. खनालले बताए ।
अस्पतालले शुल्क तिरेर परिक्षण गर्न चाहनेहरुको पिसिआर रिपोर्ट २४ घण्टाभित्र र निशुल्क परिक्षण गर्नेहरुको भने ४८ घण्टामा रिपोर्ट उपलब्ध गराउने छ । तर गम्भिर अवस्थाका विरामी र संक्रमण पुष्टि हुन नपाउंदै मृत्यु भएकाहरुको भने जिन एक्सपर्ट मेसिनको माध्यमबाट तत्काल पिसिआर परिक्षण गर्ने जनाएको छ ।
पिसिआर परिक्षण शुरु गरेको दुई महिनाको अवधीमा अस्पतालमा आएका १ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
सरकारले ५० प्रतिशत सम्मको शुल्क लिन पाउने व्यवस्था गरेको भएपनि अस्पतालमा हालसम्म करिब १ हजार जनाले मात्रै शुल्क लिएर पिसिआर परिक्षण गरेको डा.खनालले बताए ।‍


प्रकाशित : २०७७ भदौ २९ गते ०:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology