बुटवलमा नेकपा प्रचण्ड-माधव पक्षको बृहत प्रदर्शनःअसंवैधानिक संसद विघटन खारेजीको माग ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ माघ १५ गते २३:३०

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ वर्षभित्र नयाँ नेपालको जग बसाल्ने बताएका छन् । उनले लुम्बिनी प्रदेशको बुटवलमा भएको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले पार्टी एकता गर्दा आफूसहित नेपाली जनताले ठूलो सपना देखेको भएपनि अहिले त्यो सबै सपना प्रधानमन्त्री केपी शर्मा ओलीले भत्काइदिएको आरोप लगाएका छन् ।
प्रचण्डले ५ वर्षमा किसान, महिला, आदिवासी–जनजाति, मधेशी, दलितलगायतको पूर्ण अधिकारको ग्यारेन्टी गर्दैै देशलाई आमुल परिवर्तनमा लाने योजना भएपनि त्यो योजना ३ वर्ष नपुग्दै चकनाचुर बनाएर ओली श्री ३ बन्न खोजेको आरोप लगाए ।
विश्व शान्तिको प्रतिकको रुपमा रहेको लुम्बिनी प्रदेशले २०६२–६३ को जनआन्दोलनमा पनि सघाएको भन्दै प्रचण्डले महाराजलाई परास्थ गरेको लुम्बिनीले अहिले श्री ३ तीन बन्न खोज्ने ओलीलाई पनि परास्त गर्ने बताए ।
बुटवलको सभा ओलीको विरुद्धमा नभएको भन्दै प्रचण्डले यी भेला र सभा विधिको शासन, न्यायको शासन, सत्य, तथ्यसहित परिवर्तनको लागि भएको बताए । पार्टी एकता भएपछि देशमा आमुल परिवर्तन गर्न आशा भएपनि अहिले त्यो सपना भत्काएका कारण फेरि अर्को परिवर्तनको आवश्यकता भएको उनले बताए ।
महंगी, भ्रष्टाचार, किसानको समस्या, महिलाको अधिकार, जनजातिको समस्या, दलितको समस्या, सहिद तथा बेपत्ता रहेकाको लागि न्याय दिने संकल्प पुरा गर्न ओली वाधक रहेको प्रचण्डले बताए ।
आफूले पार्टी एकतालाई बचाएर देशलाई आमूल परिवर्तनको दिशामा लान खोजेको भएपनि ओलीको निरंकुशताले त्यो सबै भत्काइदिएको प्रचण्डले बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गरे ।
‘१५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’
केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको उल्लेख गर्दै नेता नेपालले ओली सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाए । आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नुस् भनेको तर ओलीले नमानेको उनले बताए ।
‘हामीले हात समाएर हिँडाउन खोजेको थचक्क बस्नुहुन्छ अनि खाली बकबक गर्नुहुन्छ, अगतिला कुरा मात्रै बोल्न जान्नुभएको छ’ नेपालले भने, ‘उहाँलाई रिस उठ्यो पत्रकार, वकिललाई गाली गर्‍यो ।’
ओलीको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै उनले ओलीको जालझेलमा परेकालाई आफ्नो पक्षमा आउन आग्रह गरे ।
‘निर्वाचन आयोग ४ सय ४१ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ, बहुमत केन्द्रीय सदस्य हामीतिरै छन्’ नेपालले भने, ‘साथीहरु ओलीको जालझेलमा पर्नुभएको छ, बाटो बिराउनुभएको छ, खुरुक्क पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ ।’
ओलीमा दृष्टिकोणकै ठूला दोष रहेको उल्लेख गर्दै उनले नवौं महाधिवेशनमा पनि जालझेल गरेर जितेका आरोप लगाए । ओलीमा झुठ बोल्न अलिकति पनि लाज नमान्ने र अरुलाई घोचपेच गर्दा रमाउने आदत रहेको नेता नेपालको आरोप थियो ।
नेकपा स्थायी समिति सदस्य  वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी  जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले आपत्ति जनाएका हुन् ।
पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे । ‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो’, नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध बिहीबार बुटवलमा गरेको विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्की ?, उही बाँदर ?’
पुनले यदि माओवादी युद्धमा लागेकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गर्नुभयो । ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, नेता पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’
पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधिसभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय बढीको समर्थन रहेको माधव–नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मुलधारको नेकपा रहेको उल्लेख गरे ।
सभामा नेकपा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली,घनश्याम भुषाल,चक्रपाणी खनाल “बलदेव”,पुर्व सभामुख एवं नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतले बोल्नुभएको थियो । नेकपा लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेको अध्यक्षता तथा नेकपा लुम्बिनी प्रदेश सचिव जग प्रसाद शर्मा “अपार”को सञ्चालनमा सभा चलेको थियोे ।


प्रकाशित : २०७७ माघ १५ गते २३:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology